३०११ पटक हेरिएको
विराटनगर । अहिले मौसम वनभोजको छ । पिकनिक स्थलहरुमा निकै भिडभाड भएको छ । कतै टोलबाट, कति परिवारिक, कतै सहकारी, कतै कार्यालय, कतै राजनीति दल तथा संघ–संस्थाको पिकनिक हुने गरेको छ ।
तेली कल्याण समाज नेपाल मोरङले विराटनगर १४ मा रहेको गोदावी पार्कमा वनभोज सम्पन्न गरेको छ । मोरङ जिल्लामा स्थायी र अस्थायी बसोबास गर्दै आएका तेली समुदायका व्यक्तिहरु शुल्क तिरेर सहभागी हुने गरि गरिएको वनभोज कार्यक्रम गतबर्ष देखि मनाउन थालिएको छ । “औपचारिक कार्यक्रमहरुमा सबैले विचार राख्न पाउने अवस्था कमै हुन्छन्, तर वनभोजमा खाना र रमाइलो गर्दै सबैले खुलेर भावना राख्ने अवसर पाउँछन् र हामी (कार्यसमिति) लाई प्रसस्त मार्गदर्शन हुन्छ“ त्यसैले यसको आयोजना गरिएको समाजका मोरङ अध्यक्ष डा. बालकृष्ण साहले वताए ।
समुदायभित्रै धेरैको एकअर्काबीच राम्रोसँग चिनजान नभएको र जातिय संस्कृति, संस्कार भाइचारा कायम गर्न वनभोजले सहयोग गर्ने गरेको दुवै वर्ष वनभोज कार्यक्रमको संयोजक भई सम्पन्न गरेको संयोजक गणेश साह बताउँछन् ।
गतवर्ष तेली समुदाय बाहेक अन्यलाई निमन्त्रणा नगरेको भए पनि यस पटक विभिन्न राजनीतिक दल, समाजिक व्यक्तित्वहरु, पत्रकारहरुलाई अनऔपचारिक निमन्त्रणा गरेका थिए । निम्तालाई स्वीकार गरेर नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष भीम घिमिरे, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शिवकुमार मण्डल, नेकपा एमालेका नेता विनोद ढकाल र सागर थापा, नेपाली काँग्रेसका राजेश गुप्ता, जसपाका राजकुमार यादव, सुँडी समाजका सन्तोष साह, कलवार समाजका राजेश भगत, मैथिली सञ्चारकर्मीका नविण कर्ण, सोनु दास आदिको उपस्थिति थियो ।
वनभोज कार्यक्रममा मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गरिएको थियो । वनभोजमा ४०० बढी सहभागी थिए । उल्लेख्य सहभागिताका लागि महानगरकाे अध्यक्ष सञ्जय साहले महानगरकाे सबैभन्दा बढि वडा ५ बाट सहभागी भएकाले वडा ५ काे अध्यक्ष सुरेश साहलाई पुरस्कार दिएकाे थियाे ।