महानगरले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा मदननगर प्रथम

Logo
स्थानिय आवाज प्रकाशित शनिबार, माघ १३, २०८०

१८८७  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा विराटनगर–३ स्थित मदननगर आधारभूत विद्यालय प्रथम भएको छ ।विराटनगर–४ कञ्चनबारीस्थित आधारभूत विद्यालयमा भएको प्रतियोगितामा २२ वटा विद्यालयलाई पछि पार्दै मदननगर आधारभूत विद्यालय प्रथम भएको हो ।

प्रथम भएसँगै मदननगरले रनिङ शिल्ड, मेडल, प्रमाणपत्रका साथ नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा आदर्श मावि द्वितीय र गोग्राहा माविले तृतीय स्थान प्राप्त गरे । द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः मेडल र प्रमाणपत्रका साथ नगद ७ र ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी विराट बहिरा माविलाई विशेष पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले चिल्ला सडक र ठूला भवन बनेर मात्रै समाजको विकास नहुने बताउनुभयो । उहाँले भौतिक विकाससँगै भाषा, साहित्य, कला र संस्कृतिको विकासले मात्रै समुन्नत समाज निर्माण हुने धारणा राख्नुभयो । “हामीले भौतिक विकासलाई मात्रै प्राथमिकतामा राख्ने गरेका छौं,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै समाजका अन्य क्षेत्रको पनि विकास हुनु जरुरी छ । समाजको सर्वाङ्गिण विकासले मात्रै सभ्य समाज निर्माण हुन्छ ।” महानगरपालिकाले भौतिक विकाससँगै खेलकुद, भाषा, साहित्य, संस्कृति, कलालगायतको क्षेत्रको विकासमा ध्यान दिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा महानगरको शैक्षिक प्रशासन महाशाखाका संयोजक कृष्ण भट्टराई, आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना मन्तव् व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा विराटनगर महानगर क्षेत्रभित्रका २२ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा नृत्यनिर्देशक नवराज भट्टराई, अमित प्रसाईं र एलिना राईले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । महानगरले यसअघि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । अब निकट भविष्यमा विज्ञान प्रदर्शनी, चित्रकला र कविता प्रतियोगिता आयोजना गर्ने योजना रहेको महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!