राजनीतिक दलको पदाधिकारी चयन भएका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाई कारबाहीको प्रक्रिया अघि बढ्यो

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, फाल्गुण २८, २०८०

१२१०  पटक हेरिएको

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरी माथी जिल्ला समन्वय समिति संखुवासभाको ध्यानाकर्षण भएको छ ।  परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा चयन भएको भन्दै जिल्ला समन्वय समिति संखुवासभामा उजुरी दिएको थियो ।

नेकपा एमाले संखुवासभाको हालसालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी माध्यमिक विद्यालयका प्रधानाध्यापक शान्ति कुमार दाहाल उपाध्यक्ष र रामेश्वर माध्यमिक विद्यालय तथा रामेश्वर क्याम्पसका प्रमुख मदन बहादुर खत्री सदस्यमा निर्वाचित भएका थिए ।

उनीहरू पदाधिकारीमा नियुक्त भएपछि परिषद्ले कारबाहीको माग गर्दै दिएको उजुरी माथि जिल्ला समन्वय समिति संखुवासभाले कारबाही प्रक्रिया अगाडी बढाएको हो । समितिले नेकपा एमाले जिल्ला कमिटि संखुवासभालाई यस विषयमा जानकारी दिन भनेको छ ।

शिक्षा ऐन, २०२८ को दफा १६ (४) ५ को (छ) मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा निजलाई पदबाट हटाउने व्यवस्था रहेको छ । साथै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ग) मा राजनीतिक दलको सदस्यता वितरण गर्दा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको व्यक्ति हुनुपर्ने व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!