नेपाल प्रहरी र आम नागरिकलाई सहज सुविधा प्रदान गर्दै ‘नेपाल प्रहरी मोबाइल एप’

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, चैत्र २९, २०८०

७४२  पटक हेरिएको

काठमाडौं । विश्‍वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ ।

प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं २०७६ असोज २४ गतेबाट ‘नेपाल प्रहरी मोबाइल एप’को सुरुवात गरेको हो । जुनसुकै व्याक्तिले गुगल प्लेस्टोर र एप्पल स्टोरबाट उक्त मोबाइल एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्छन । प्रहरी कर्मचारीहरूले यूजरनेम र पासवर्ड राखि लगइन गर्न सक्छन् भने सर्वसाधारणले नाम, थर, मोवाइल नम्बर, इमेल र ठेगाना सहि रूपले
भरेर रजिष्ट्रेसन गरी लगइन गर्न सक्छन् ।

एपको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्छन् । प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको छ । साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको छ ।

नेपाल प्रहरीलाई घटनाको छिटोछरितो रिपोर्टिङ गर्न मोवाइल एपले सहयोग पुर्‍याउँछ । नेपाल प्रहरीको Area Of Responsibility (AOR) निकै बृहत् रहेको र जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धीत सूचना GPS मा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्सट सूचनासहित खबर गर्न सकिने प्रावधान रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको कामकारबाहीलाई

प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा एप सञ्चालन भएको हो । हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ । समुदायमा घट्ने अपराधिक कृयाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।”

नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत ईन्ट्रानेट पोर्टल (Nepol.cd), PMIS profile, Geo-Attendance, Police Calendar, GPS Tracker, Patrolling जस्ता सुविधाहरू छन् । आम नागरिकका लागि विभिन्न सुविधाहरू रहेका छन् ।

जसमध्ये Report incident बाट आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । Emergency Number बाट आपतकालिन नम्बर प्राप्त गर्न सकिन्छ । FM Station बाट ट्राफिक एफएम सुन्न सकिन्छ । News बाट नेपाल प्रहरीको विभागीय तथा अन्य समाचार पढ्न सकिन्छ । Notice बाट नेपाल प्रहरी सम्बन्धी सम्पूर्ण सूचनाहरूको जानकारी लिन सकिन्छ । Police Station Nearby बाट नजिकका प्रहरी कार्यालयहरू र तिनको फोन नम्बर थाहा पाउन सकिन्छ ।

E-compliant बाट प्रहरीसँग सम्बन्धित गुनासो र सेवाबारे उजुरी दिन सकिन्छ । Public Eye बाट तुरून्तै रिपोर्ट गर्न सकिन्छ । Police Clearance Report बाट प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी लिन सकिन्छ । Panic Mode अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त Feature Enable गरे लगत्तै नेपाल प्रहरीले Dashboard मा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थान सहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी परिचालन गर्न सघाउ पुर्‍याउँदछ ।

हालसम्म एपका १ लाख ८ हजार ९८ जना प्रयोगकर्ता रहेका छन् । ती मध्ये ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी रहेका छन् । यस एपमार्फत ९ हजार ३८४ वटा घटनाको खबर प्राप्त भएको छ । यस एपको निर्माण तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य भन्नुहुन्छ, “यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्छन् । हाल केही सुविधाहरू थप गरी एप परिमार्जन गर्ने काम भइरहेको छ ।

छिट्टै यो एपको नयाँ भर्सन सार्वजनिक गर्ने क्रममा रहेकोले नयाँ एन्ड्रोइड डिभाइसहरूमा यो एप अपडेटको अवधि भर गुगल प्लेस्टोरको लिस्टिङमा नदेखिने अवस्था रहेको समेत जानकारी गराउँदछु ।” मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक दुवैलाई सहज हुने गरी विभिन्न सुविधा रहेका छन् । एप मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना तुरून्तै आदानप्रदानगर्ने प्रणाली रहेको छ ।

मोबाइल एप सञ्चालनलाई निरन्तरता दिन हरेक प्रहरी कर्मचारी र आम नागरिकहरू एपमा आवद्ध भई सेवाको पहुँच वृद्धि गर्न आवश्यक छ । प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी मोवाइल एपले आम
नागरिकलाई सूचनामैत्री बनाइ सुरक्षित समाजको निर्माण गर्न अहम् भूमिका निर्वाह गरेको छ । सवै प्रहरी कर्मचारी तथा आम नागरिकलाई मोवाइल एपको सेवा लिन अनुरोध छ ।”

कमेन्ट गर्नुहोस्
error: Content is protected !!