हस्पिटलबाट हराएको अविवाहित जोडिको बच्चा भेटियो , डाक्टरले बेचेको खुलासा

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, भाद्र ०६, २०८०

९७८६  पटक हेरिएको

विराटनगर। विराटनगरको ग्रिनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर नेपाल प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

प्रहरीले प्रसूति गराउने उपचारमा संलग्न डा कर्णलाई गत शुक्रवार नियन्त्रणमा लिए पनि स्वास्थ्यमा समस्या भएको भन्दै उनी कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मंगलवार डिस्चार्ज दिएको छ । उनलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान शुरू गरिएकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । अनुसन्धानपछि पुनः अस्पताल आउने आश्वासन दिएपछि मात्र उनी मोरङ प्रहरी जान राजी भएका थिए । उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै डा कर्णले कोशी अस्पतालको जेनरल वार्डको सिंगल क्याबिन २१२ मा भर्ना भएर उपचार गराएका थिए ।

पक्राउ परेका डा कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ ।

कोशी अस्पतालका पूर्वमेसुसमेत रहेका डा कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रिनक्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी थिइन् । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । शुरूमा ग्रिनक्रस अस्पतालनजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर गएका थिए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रिनक्रस अस्पतालमा लगेर उपचार गराउने गरेका छन् । उनको क्लिनिकबाट उक्त अस्पताल ५० मिटर पश्चिममा छ । डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएको बताइएको छ । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि डा कर्णले नै लिएको प्रहरीले जनाएको छ ।

व्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको अभिलेखमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेका थिए । कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सकहरूले आरोप लगाउने गरेका छन् ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित जोडीसँग डा कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको दाबी छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि डा कर्णका सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा कर्णले अन्यत्र बिक्री गर्दै आएको आरोप पनि लाग्ने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!