रंगेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आषाढ १९, २०८१

१५३४  पटक हेरिएको

रंगेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहयोगमा नगरपालिकाले २०७८ सालमा दर्ता भएका नागरिकहरुको राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।

यसअघि नगरपालिकामा दर्ता भएर पनि परिचयपत्र नपाएका नागरिकहरुले अब वडा स्तरबाटै परिचयपत्र लिन सक्नेछन् । नगरपालिकाले वडा स्तरमै गएर अनलाइन मार्फत नयाँ राष्ट्रिय परिचयपत्रको फर्म भर्ने व्यवस्था गरेको छ । रंगेली नगरपालिका वडा नम्बर १, २ र ३ मा परिचयपत्र वितरण तथा नयाँ फर्म भर्ने काम भइरहेको छ । नगरपालिकाले यसरी वडा स्तरबाटै अनलाइन मार्फत फर्म भर्ने व्यवस्था गरेको सम्भवत नेपालकै पहिलो नगरपालिका भएको छ ।

राष्ट्रिय परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्तिले नै तोकिएको ठाउँमा गएर आफ्नो बायोमेट्रिक गराउनुपर्नेछ । यदि कसैको परिचयपत्रमा नाम, ठेगाना वा अन्य विवरणमा त्रुटी भएमा जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा गएर शुल्क तिरेर सच्याउन सकिनेछ ।

नगरपालिकाले विगतमा वडामा गरिएको राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रममा ढिलाइ भएको र नागरिकहरुले सास्ती पाएपछि अहिले वडा स्तरबाटै अनलाइन प्रणालीमार्फत तुरुन्तै परिचयपत्र वितरण गर्ने व्यवस्था गरेको हो । रंगेली नगरपालिकामा २५ हजार बढी राष्ट्रिय परिचयपत्र छपाइ भइसकेको छ । नगरपालिकाले बाँकी वडाहरुमा पनि क्रमैसँग परिचयपत्र वितरण गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!