११०९ पटक हेरिएको
जहदा । जहदा गाउँपालिका आयोजना र विश्वास परियोजनाको सहयोगमा आज पालिका स्तरीय डेङ्गु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद शाह, उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार भण्डारी लगायतका सुरक्षा निकाय, विद्यालयका शिक्षक, प्रहरी, सम्पूर्ण शाखाका प्रमुखहरु, स्वास्थ्य स्थानका प्रमुखहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो।
स्वास्थ्य कार्यालय मोरङका प्रतिनिधि अनिल कुमारदेवले डेङ्गु एक गम्भीर महामारी रहेको र यसको रोकथामका लागि सबैले सचेत रहन आवश्यक रहेको बताउनुभयो। उहाँले सर्वसाधारणलाई डेङ्गुबाट बच्न घर आँगन सफा राख्न र पानी जम्न नदिन आग्रह गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारीले विशेष गरी बर्खायामको बेला सचेत रहन र आफ्नो वरपरको क्षेत्र सफा राख्न अनुरोध गर्नुभयो। उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणमा हामीले ध्यान दिनुपर्ने मुख्य पक्ष भनेको सफाइ हो। पानी जम्ने स्थानहरू, जस्तै फोहोर टायर, फूलदानी, वा खुला भाँडाहरूमा पानी नजम्ने गरी सफा राख्नुपर्छ।”
गाउँपालिका उपाध्यक्ष हन्ना सोरेनले विद्यालयका विद्यार्थी र अभिभावकलाई डेङ्गु रोगको रोकथाम सम्बन्धी जानकारी आवश्यक रहेको औंल्याउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरू र अभिभावकहरू नै हाम्रो समाजका महत्त्वपूर्ण अंग हुन्। तिनीहरूले डेङ्गुको बारेमा पूर्ण जानकारी प्राप्त गर्नुपर्छ ताकि घरमा र समाजमा यसको बारेमा सचेतना फैलाउन सकून्।” गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद शाहले आफ्नो सम्बोधनमा डेङ्गु रोगको रोकथामका लागि सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँका प्रत्येक घरमा सचेतना पुर्याउनुपर्ने र यसको लागि सामूहिक प्रयास आवश्यक छ। सबैले आफ्नो घर आँगन सफा राख्नुपर्छ, पानी जम्ने स्थानहरूमा ध्यान दिनुपर्छ, र स्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्छ।”
कार्यक्रममा विश्वास परियोजनाले डेङ्गु रोगको रोकथाम सम्बन्धी विशेष जानकारी दिइएको थियो। परियोजनाका प्रतिनिधिहरूले डेङ्गुको संक्रमणबाट कसरी जोगिने, लामखुट्टेको प्रजनन स्थलहरू कसरी हटाउने, र समुदायमा कसरी सचेतना फैलाउने भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरे ।