११४९ पटक हेरिएको
विराटनगर। मोरङ उद्योग व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरमा सरुवा भई आउनु भएका प्रमुख कर अधिकृत श्री भुपालराज शाक्यज्यूलाई संघमा स्वागत गरी भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष श्री अनुपम राठीले प्रमुख कर अधिकृत शाक्यलाई प्रमुख अतिथिका रुपमा स्वागत गर्नु भएको थियो । साथै, अध्यक्ष राठीले कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ, कोशी प्रदेशका अध्यक्ष श्री तिर्थ यादव र राजस्व कार्यालयका सूचना अधिकृत श्री हरि प्रसाद सेढाईलाई समेत स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा उद्योगी/व्यवसायीहरुले कर प्रशासन अन्तर्गत भोगिरहेका समस्याहरु बारे छलफल गरेका थिए । छलफलमा घाटामा रहेका वासलात, पुरानो नन फाईलर फर्महरु, भन्सार विन्दुमा लिइने अग्रीम आयकर, अनिवार्य अनलाईन विलिङ्ग, कर विजकमा अनिवार्य एच.एस.कोड लगायतका विषयहरुमा छलफल भएको थियो ।
सो क्रममा प्रमुख कर अधिकृत शाक्यले घाटा देखिने वासलात विभागले स्वीकार गर्ने गरेको जनाउनुका साथै कर वीजकको हकमा एच.एस.कोड अनिवार्य गरिएको स्पष्ट पार्नु भएको थियो । उहाँले उद्योगी/व्यवसायीहरुले कर प्रशासन अन्तर्गत भोगिरहेका अन्य समस्याहरु तथा कार्यक्रममा उठेका जिज्ञासा एवं सुझावहरु माथि पनि क्रमिक रुपले सुधार तथा सकारात्मक कदमहरु चालिँदै जाने आश्वासन दिनु भएको थियो ।
संघका महासचिव श्री संजय कुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, उद्योगी/व्यवसायीहरु, संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।