न्यूरो अस्पतालले नेपालमा नै पहिलो पटक अत्याधुनिक एआई पावर्ड १२८ स्लाइस सिटिस्क्यान मेसिन

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, साउन ११, २०८१

१२०६  पटक हेरिएको

विराटनगर–१० स्थित न्युरो अस्पतालले नेपालकै पहिलो अत्याधुनिक AI Powered 128 Slice CT Scan र कोशी प्रदेशकै पहिलो Dexa Scan उपकरणहरू सञ्चालनमा ल्याएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यी उपकरणहरूको उद्घाटन गर्दै कोशी प्रदेशमा स्वास्थ्य सेवामा नयाँ युगको थालनी भएको बताए।

अस्पतालले पछिल्लो छ महिनामा करोडौं रुपैयाँ लगानी गरी अत्याधुनिक MRI र CT Scan उपकरणहरूसँगै यी दुई नयाँ उपकरणहरू थपेको छ। यी उपकरणहरूले टाउको, नसा, हाडलगायतको जाँच तथा मुटुको एन्जियोग्राफी गर्न सक्नेछन्। साथै, Dexa Scan ले हाडहरूको अवस्थाको सम्पूर्ण जानकारी प्रदान गर्नेछ।

अस्पतालमा दक्ष प्राविधिक तथा विशिष्ट चिकित्सकहरूको टोलीले नवीनतम परीक्षण, समयसापेक्ष जाँचहरू, भरपर्दो उपचार र नवीनतम प्रविधियुक्त प्रक्रियाहरू तथा अप्रेशनहरू प्रदान गर्दै आएको छ। अस्पतालमा न्युरोलोजी सेवा, न्युरो सर्जरी सेवा, मुटु रोग सेवा, हाडजोर्नी रोग सेवा लगायतका विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध छन्।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस कदमले कोशी प्रदेशका जनतालाई उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज बनाउने बताए। उनले यस अस्पतालले स्वास्थ्य क्षेत्रमा नयाँ युगको शुरुवात गरेको बताउँदै अस्पताल प्रशासनलाई बधाई दिए।

अस्पताल प्रशासनले यी नयाँ उपकरणहरूले अस्पतालको सेवाको दायरा बढाउने र बिरामीहरूलाई थप सुविधा प्रदान गर्ने बताएको छ। अस्पतालले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नका लागि निरन्तर प्रयासरत रहने बताएको छ।

विराटनगरको न्युरो अस्पतालले अत्याधुनिक प्रविधि भित्र्याएर कोशी प्रदेशमा स्वास्थ्य सेवाको स्तरमा उल्लेखनीय सुधार गरेको छ। यसले स्थानीय बासिन्दालाई मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!