
१८५७ पटक हेरिएको

विराटनगर । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपालले आयोजना गरेको ३ दिने अन्तर्राष्ट्रिय कार्यकर्ता सम्मेलन आइतबार भव्य रुपमा सम्पन्न भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित यस सम्मेलनमा नेपालसहित भारत, जर्मनी, अमेरिका, इङ्ल्यान्ड र भुटान गरी ६ देशका ५ सय भन्दा बढी कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
विश्वका विभिन्न देशबाट आएका विशिष्ट व्यक्तिहरूसहित विनोद पौदारले सम्मेलनलाई सम्बोधन गरेका थिए । कोशी प्रदेश अध्यक्ष उद्योगी जितेन्द्रकुमार राठी र कार्यक्रम संयोजक उद्योगी बेनिगोपाल मुन्दडाले सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।
जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियान नेपालको स्वीकृत प्राप्त संस्था हो । यस संस्थाले नेपालभर १ हजार २८ वटा एकल विद्यालय सञ्चालन गर्दै आएको छ । ३० वर्षभन्दा बढी समयदेखि गाउँगाउँमा सञ्चालित यी विद्यालयहरूमा दाताको सहयोगमा अध्ययनरत विद्यार्थीहरूले हिन्दु धर्म र संस्कृतिको प्रचारप्रसार तथा संरक्षण कार्यमा जुटेका छन् ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एकल विद्यालय अभियानका विद्यमान अवस्था, भविष्यका योजना तथा विद्यार्थीहरूको शैक्षिक विकासका लागि आवश्यक पर्ने सहयोगका विषयमा व्यापक छलफल गरेका थिए ।विराटनगरमा आयोजित यस अन्तर्राष्ट्रिय सम्मेलनले एकल विद्यालय अभियानप्रतिको विश्वव्यापी चासो र समर्थनलाई प्रष्ट पारेको छ । सम्मेलनले एकल विद्यालय अभियानलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।