२३२१ पटक हेरिएको
इटहरी। जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् । अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।
त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईनमा आउने तर्खर गर्दैछिन् । उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ । यो फिल्म जब जब प्रदर्शनको नजिक आउदैछ, तब तब उनमा त्यो बालापनदेखीकै सपना साकारको नजिक पुग्दै गरेको अर्को सपना देखीरहेकि छन् ।
फिल्ममा उनी सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् । कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल-२०१७’मा सहभागी भईन् ।
उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको बताउछिन् । यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ७ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ५ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए ।
त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् । यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् । सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।