१९०६ पटक हेरिएको
विराटनगर । आजभोलि दाँतमा किरा लाग्ने समस्या सामान्य भइसकेको छ। यसलाई दन्त चिकित्सकहरू क्याभिटी भनेर पनि चिन्छन्। हामीले दैनिक खानेकुरा खाएपछि राम्रोसँग मुख सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या बढ्छ। यो समस्या विशेष गरी बच्चाहरूमा बढी देखिन्छ। किनकि बच्चाहरूले मिठाई, चकलेट जस्ता चिपचिपा खानेकुरा बढी खाने गर्छन् जसले दाँतमा किरा लाग्नलाई प्रोत्साहित गर्छ दन्त रोग विषेशज्ञ डा. शेखर कुमार मण्डल बताउछन् । दाँत किराले खाने समस्या बच्चाहरुमा प्राय हुने गर्छ , नियमित दाँतको सरसफाईमा ध्यान नपुर्याए दाँत छिटै बिग्रिन सक्छ । बच्चाहरुको दाँतमा आउने समस्या र त्यसको समाधानको के हो र कसरी गर्ने भन्ने विषयमा मण्डलले जानकारी दिएका छन् ।
क्याभिटी के हो र बच्चाहरुमा कसरी यो समस्या आउछ ?
क्याभिटी भनेको सामान्य भाषामा दन्त सडन हो ,यसको मुख्य कारण मुखमा भएको ग्लुकोज र ब्याकटेरिया मिलेर एसिड उत्पन्न गर्छ जस्ले दाँतलाई बिस्तारै सडाउदै जान्छ । बच्चाहरुमा यो समस्या खाना खाई सकेपछि लामो समय सम्म दुध खाएर मुखमै रहने , चकलेट , बिस्कुट जस्ता इत्यादी खानेकुरा सेवन गर्ने भएकोले बच्चाहरुलाई दन्त सडनको समस्या हुने गरेको मण्डल बताउछन् ।
बच्चाको दाँतलाई किरा लाग्नु बाट बचाउन के गर्नुपर्छ ?
बच्चाको दाँत दुध दाँत भएको कारण छिटै किरा लाग्न सक्छ त्यसको लागि बच्चालाई दुध वा अन्य खाने कुरा खुवाए पछी राती सुत्नु भन्दा अघि पानीले मुख कुल्ला गराउन जरुरी रहेको उनको भनाई छ ।
दुध दाँत र स्थायी दाँतमा के फरक हुन्छ ?
बच्चामा आउने दाँतलाई दुध दाँत भन्निछ र ६ वर्ष पछि आउने दाँतलाई स्थायी दाँत भनिन्छ । दुध दाँतको जरामा स्थायी दाँत जोडिएको हुन्छ , किराले खाएको बच्चाको दुध दाँत निकाले ,स्थायी दाँतमा समस्या पर्छ जस्ले गर्दा पछी आउने दाँत बाङ्गो हुने गर्छ । दुध दाँतले मुखको हड्डीलाई पछि सम्म व्यवस्थित राख्न पनी मदत गर्ने मण्डल बताउछन् ।
सिमेन्टले प्लास्टर गरिएको दाँतमा पछी असर पर्छ वा पर्दैन ?
सिमेन्ट भनेको दाँतलाई बचाउने प्रक्रिया हो । किराले खाएको दाँतलाई समयमै भरिएन भने अन्य दाँतलाई समेत बिर्गाने काम गर्छ र साथै किराले खाएको दाँतलाई अझ बढि सडाउने काम गर्छ ।
दाँतलाई किरा लाग्न बाट जोगाउने उपायहरु के–के हुन् ?
दाँतलाई किरा लाग्नु बाट जोगाउन सव प्रथम मुख सफा राख्नु पर्छ । नियमित बिहान र बेलुकी फ्लोराईड युक्त दन्तमञ्जनले ब्रस गर्नु पर्ने हुन्छ। । विषेश गरि खाना खाईसके पछी मुख कुल्ला गर्नु पर्छ । हामीले नियमित प्रयोग गर्ने ब्रस नरम हुनुपर्छ र हरेक तिन महिनामा ब्रस फेर्नु पर्ने हुन्छ । यसका साथै हरेक ६ –६ महिनामा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त विशेषज्ञमा गएर डेन्टल चेकअप गर्न पनी आवश्यक हुने उनले जानकारी दिए ।