
१८४५ पटक हेरिएको

विराटनगरको प्रतिष्ठित गोल्डेन अस्पताल आइतबारदेखि आफ्नै भव्य भवनमा सञ्चालनमा आएको छ। ४८ करोड रुपैयाँको लागतमा निर्माण गरिएको यो अस्पताल विराटनगर महानगरपालिका वडा नं. ११ स्थित महेन्द्र चौकको पश्चिममा अवस्थित छ।
पहिले भाडाको भवनमा सञ्चालित यस अस्पतालले अब १ सय बेडको क्षमतामा बिरामीलाई सेवा प्रदान गर्नेछ। अस्पतालका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारका अनुसार, केही समयपछि अस्पताल चौकमा रहेको पुरानो भवन बन्द गरेर सबै सेवा नयाँ भवनबाटै प्रदान गरिनेछ।
अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलका अनुसार, गोल्डेन अस्पतालमा ३५ भन्दा बढी विशेषज्ञ चिकित्सक कार्यरत छन् र यहाँ सबै प्रकारका रोगको उपचार सेवा उपलब्ध छ। नयाँ भवनमा निम्न आयस्तर भएका बिरामीदेखि हुने खाने बिरामीहरू सबैले एकै थलोबाट उपचार पाउनेछन्।
आइतबार कोशी प्रदेशका प्रदेश प्रमुख हिक्मतकुमार कार्कीले अस्पतालको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख उपप्रमुख र अन्य स्वास्थ्य संस्थाका सञ्चालकहरूको उपस्थिति रहेको थियो।