३०३८ पटक हेरिएको
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कन) प्रभुपाद विराटनगर शाखाले आगामी भाद्र १० गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रूपमा मनाउने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गरी सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने यस कार्यक्रममा ३० हजार भक्तजनहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
इस्कन प्रभुपाद विराटनगरका उपाध्यक्ष विनिस यादवले आज एक पत्रकार सम्मेलनमा बोल्दै यस वर्षको जन्माष्टमी पर्वमा गत वर्षको तुलनामा अझ बढी भक्तजनहरूको सहभागिता रहने बताए। गत वर्षको जन्माष्टमी रथ यात्राका दिन भएको कम भक्तजनहरुको उपस्थिती रहेकोमा यस पल्ट रथ यात्राको एक दिन अगाडी नै कार्यक्रम रहेको बढी भक्तजनहरु आउने बताए ।
कृष्ण जन्माष्टमी कार्यक्रममा श्रीधाम जगरन्नाथ पुरी (चार धाम मध्येको एक धाम) बाट परम् पुज्य श्रद्धये भक्ति निलाचल स्वामी महाराजज्यू पदार्पण गर्नु भएको छ । वहाँको विशेष उपस्थितिमा कार्यक्रमलाई भव्य रुपमा मनाउने र वहाँले कथा वाचन गर्ने छ। इस्कन प्रभुपाद विराटनगरलाई बिशेष कृप्पा प्रदान गर्नका लागि महाराजज्यू पदार्पण गर्नु भएको छ ।
यसैगरी, इस्कन प्रभुपाद विराटनगरका सचिव मनिष कुमार दासले बिहान ७:३० बजेदेखि राति १२:०० बजेसम्म सञ्चालन हुने जन्माष्टमी कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई विशेष अतिथिको रूपमा आमन्त्रण गरिएको जानकारी दिए।
विराटनगर-१० ट्राफिक चौक नजिक पुरानो कार्यालय रहेको इस्कनले विगतदेखि नै भव्य रूपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै आएको छ। यस वर्ष पनि भक्तजनहरूलाई लक्षित गरी विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।
यी कार्यक्रमहरूमा भजनकीर्तन, प्रवचन, सांस्कृतिक नृत्य, रासलीला जस्ता विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश हुनेछन्।
विराटनगरका बासिन्दाहरूका लागि यो पर्व विशेष महत्वको मानिन्छ। यस पर्वमा भक्तजनहरूले भगवान श्रीकृष्णको पूजाआजा गर्दै रमाइलो गर्ने गर्दछन्। यस पर्वले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने विश्वास गरिन्छ।