रथयात्रामा महानगर प्रहरीले पनि सिसी क्यामराबाट निगरानी गर्ने

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, भाद्र ११, २०८१

२१५१  पटक हेरिएको

विराटनगर। विराटनगरमा निकालिने ऐतिहासिक राधाधकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ ।महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्रा हुने आपराधिक गतिविधिको निगरानी गर्ने भएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारा, महिलामाथि हुने दुव्र्यवहारलगायत सिसी क्यामराबाट निगरानी गरिने पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइनेछ । रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्मका विभिन्न चोक र स्थानमा महानगरले जडान गरेका ३७ वटा सिसी क्यामरा विगतदेखि नै सञ्चालनमा रहेका छन् । रोडशेषदेखि बरगाछीसम्म प्रहरीले जडान गरेका क्यामराबाट जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गरिनेछ ।

महानगरले जडान गरेका ३७ वटा क्यामराको प्रहरीले पनि निगरानी गर्नेछ । हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौंको सहभागिता रहँदै आएको छ । रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिकाका साथ भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहने गरेको छ । यसपटकको रथयात्रामा करिब ५ लाख भक्तजन सहभागी हुने आयोजकले अनुमान गरेको छ । कृष्णजन्माष्टीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष मंगलबार निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!