महानगरद्वारा अपाङ्गताका क्षेत्रमा कार्य गर्ने करुणा फाउण्डेसन सम्मानित

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, भाद्र २७, २०८१

७५३  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रुपमा रहेको करुणा फाउण्डेसन नेपाललाई सम्मान गरेको छ ।
विराटनगर महानगरपालिकाको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो । मेयर कोइराला, उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का बासुबहादुर बस्नेत, ८ का राम पोखरेल, ११ का तीर्थेन्द्र नेउपानेलगायतको उपस्थितिमा भएको कार्यक्रममा फाउण्डेसनले अपाङ्गताको क्षेत्रमा गरेको कार्यप्रगतिका विषयमा स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत मीना अधिकारीले प्रकाश पार्नुभएको थियो ।

महानगर क्षेत्रभित्र २ हजार ७३८ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान भएको छ । फाउण्डेसनले आर्थिक वर्ष २०७७÷७८ देखि विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको थियो । फाउण्डेसनको कार्यअवधि सकिएर विराटनगरबाट विदाइसमेत भएको छ । महानगरले फाउण्डेसनका अन्य कर्मचारीलाई समेत सम्मान गरेको थियो ।

कार्यक्रममा मेयर नागेश कोइरालाले करुणा फाउण्डेसनले विराटनगरमा अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले फाउण्डेसनलाई जति नै धन्यवाद दिए पनि कमी हुने बताउनुभयो । उपमेयर शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाले थुप्रै संघसंस्थासँगको सहकार्यमा कार्य गरिरहेको बताउनुभयो । उहाँले अपाङ्गताका क्षेत्रमा करुणा फाउण्डेसनले विराटनगरमा कहिल्यै बिर्सनै नसक्ने गरी काम गरेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगरमा करुणा फाउण्डेसनले देखिने र सधैं स्मरण गर्ने गरी काम गरेको चर्चा गर्नुभयो । महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न तालिम दिएर स्वरोजगार बनाएको जानकारी दिनुभयो । फाउण्डेसनका निर्देशक दीपक सापकोटाले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको समय अवधि सकिएकाले विराटनगरबाट विदा हुँदा धेरै नै दुःख लागेको प्रतिक्रिया दिनुभयो ।

उहाँले आगामी दिनमा अन्य कार्यक्रममार्फत विराटनगर महानगरसित जोडिने प्रतिबद्धता जनाउनुभयो । उहाँले महानगरले जग्गा उपलब्ध गराए अर्टिजम भएका व्यक्तिहरुका लागि भवन निर्माण गरिदिने स्पष्ट पार्नुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!