चार दिने कृषि एक्स्पो सुरु

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, भाद्र २७, २०८१

१८३४  पटक हेरिएको

मोरङ जिल्लाको कटहरी गाउँपालिकामा बिहीबारदेखि ४ दिने कृषि एक्स्पोको  उद्घाटन भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले आयोजित यो एक्स्पो कोशी प्रदेशको पहिलो कृषि एक्स्पो हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथि र संघीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारीले विशिष्ट अतिथिको रूपमा एक्स्पोको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले यस एक्स्पोले प्रदेशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

आइतबारसम्म चल्ने यस एक्स्पोमा नेपाल र भारतका गरी १ सय ३० वटा स्टलहरू रहेका छन्। जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारका दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँकरा र किबीको जुस लगायतका कृषि सामग्रीहरू बिक्रीका लागि राखिएका छन्।

नेपाल र भारतका १५ जना कृषि विज्ञहरू एक्स्पोमा सहभागी भएका छन्। उनीहरूले किसानहरूसँग कृषि उत्पादनका बारेमा अन्तरक्रिया गर्दै आधुनिक कृषि प्रविधिबारे जानकारी गराउनेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले यस एक्स्पोलाई प्रत्येक वर्ष निरन्तरता दिने घोषणा गरेका छन्। उनले यस एक्स्पोले किसान र उद्यमीहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउन तथा कृषि क्षेत्रको बजारीकरणमा टेवा पुर्‍याउने बताए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!