समाजसेवी विरेन्द्र कुमार शाहको पहलमा ,सुनवर्षीकी ७० वर्षीया रम्भादेवीको पारस अस्पतालमा निःशुल्क शल्यक्रिया सफल

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, आश्विन ०३, २०८१

१२३८  पटक हेरिएको

मोरङ जिल्लाको सुनवर्सी नगरपालिका–९ की ७० वर्षीया रम्भादेवी माझीको पारस अस्पतालमा निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ। यो परोपकारी कार्य स्थानीय पत्रकार तथा समाजसेवी विरेन्द्र कुमार शाहको पहलमा सम्भव भएको हो। शाहले रम्भादेवीको आर्थिक अवस्था कमजोर भएको र उपचार गराउन असमर्थ भएको थाहा पाएपछि पारस अस्पतालसँग समन्वय गरी शल्यक्रियाको व्यवस्था मिलाउनुभएको थियो।

रम्भादेवीलाई लामो समयदेखि नशाको समस्याले पिरोलिरहेको थियो, जसका कारण उहाँले दैनिक जीवनमा असहजता महसुस गर्नुभएको थियो। यो अवस्थाले उहाँको स्वास्थ्य स्थिति झन् बिग्रँदै गएको थियो, तर आर्थिक अभावले गर्दा उहाँले उचित उपचार पाउन सक्नुभएको थिएन। यसै सन्दर्भमा, समाजसेवी शाहले समस्या समाधानका लागि अस्पतालसँग पहल गर्नुभयो र पारस अस्पतालको टोलीले रम्भादेवीको घरमै पुगेर उहाँलाई अस्पताल पुर्याएको थियो।

पारस अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताका अनुसार, अस्पतालले रम्भादेवीको शल्यक्रिया पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न गरेको छ। यसबाहेक, उहाँलाई अस्पतालले खाना, औषधि, र आवश्यक लुगाफाटा समेत निःशुल्क उपलब्ध गराएको छ। शल्यक्रिया पश्चात रम्भादेवीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउने तयारी गरिएको मेहताले बताए।

अस्पतालका वरिष्ठ चिकित्सक डा. सफिउर रहमानले रम्भादेवीको नशासम्बन्धी समस्या गम्भीर भए पनि समयमै शल्यक्रिया भएकोले उहाँले पुनः स्वस्थ जीवन बाँच्न पाउने बताउनुभयो। अस्पतालले उच्चतम सेवा र दक्ष चिकित्सकहरूको समन्वयमा शल्यक्रिया सफल बनाएको पनि उहाँले थप्नुभयो।

यो उपचार प्राप्त गरेपछि रम्भादेवी अत्यन्तै खुसी भएकी छिन्। उनले पारस अस्पताल र समाजसेवी विरेन्द्र कुमार शाहलाई धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले आफूलाई नयाँ जीवन पाएको महसुस भएको बताइन्। पारस अस्पतालको यो निःशुल्क सेवा र समाजसेवीको समर्पणले स्थानीय बासिन्दाहरूमाझ ठूलो प्रशंसा बटुलिरहेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!