नेपालले इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४ मा दोस्रो स्थान हासिल गर्‍यो

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, आश्विन ०८, २०८१

१७१८  पटक हेरिएको

विराटनगर। थाइल्याण्डमा सम्पन्न ‘इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा आफ्नो स्थान पक्का गरेको छ। नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत, र ४ कांस्य पदक जित्न सफल भएका छन्।

प्रतियोगितामा नेपालका खेलाडीहरु कुनाल कामत, गोबिन्द गोयाल, इशाना शर्मा र आध्या शर्माले सहभागिता जनाएका थिए। कुनाल कामतले १४ वटा इभेन्टमा भाग लिँदै भारतबाहेक अन्य देशहरू मध्ये सबैभन्दा बढी स्वर्ण पदक जितेका छन्। उनले ११ स्वर्ण र ३ कांस्य पदक जित्दै सबैभन्दा बढी पदक प्राप्त गर्ने खेलाडी बनेका छन् र ‘प्लेयर अफ दी इयर’को ट्रफी पनि हासिल गरेका छन्।

गोबिन्द गोयालले ६ इभेन्टमा भाग लिँदै ३ स्वर्ण र ३ रजत पदक जितेका छन्। इशाना शर्माले ७ इभेन्टमा ३ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जितेकी छन्। त्यस्तै, आध्या शर्माले ३ इभेन्टमा ३ स्वर्ण पदक जितेर आफ्नो प्रदर्शन उत्कृष्ट बनाएकी छन्।

भारतले ६६ स्वर्ण पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ। नेपालले कुल पदक संख्यामा उच्च प्रदर्शन गर्दै दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा फिलिपिन्सले कब्जा जमाएको छ। मोरङ जिल्ला रोलर स्केट एसोसिएसनका अध्यक्ष सुरज कामतका अनुसार नेपाली खेलाडीहरुको यो प्रदर्शनले देशको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेको छ र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई थप सशक्त बनाएको छ।

नेपालको यो सफलताले खेलकुद क्षेत्रमा नयाँ जोश थपेको छ भने खेलाडीहरुको आत्मविश्वास र मेहनतलाई पनि प्रोत्साहित गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!