‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, आश्विन ०९, २०८१

१७८६  पटक हेरिएको

‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटालाई अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन् ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन् चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उनले बताइन् । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उनले भनिन् ।

एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । “फुपूदिदीको घरमा फर्निचर उद्योग भएको थियो । सुरुआती दिनमा त्यहाँ गएका रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ”, उनले भनिन् ।

फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्छिन् । यसबाट ध्यान विकेन्द्रित नहसने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

चित्र बनाउँदै गर्दा भेटिएकी सापकोटाले भनिन्, “चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।” उनले एउटा चित्र न्यूनतम रु सात हजारसम्म र अधिकता रु १२ हजारसम्ममा बिक्री हुने उल्लेख गरिन् ।

विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु २० हजार र अष्ट्रेलियामा रु १२ हजारमा बिक्री हुने गरेको आएको सापकोटाले बताइन् ।

यसैगरी अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाइन् । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको योजना छ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!