महानगरमा एकमहिने सेवाकालीन प्रशिक्षण सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, आश्विन १०, २०८१

१५९७  पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिकाको समन्वयमा विकास व्यवस्थापन तथा व्यावसायिक प्रवद्र्धन सेवाकालीन प्रशिक्षण सम्पन्न भएकोछ ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा एकमहिने तालिम बिहीबार सम्पन्न भएको हो ।

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक सन्तलाल श्रेष्ठ र उपनिर्देशक हरिकृष्ण कोइरालाले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरीले प्रतिष्ठानले देशभरका स्थानीय पालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई तालिम दिने गरेको जानकारी दिनुभयो । उहाँले सुगममा मात्रै नभएर प्रतिष्ठानले दूरदराजमा समेत पुगेर तालिम दिने गरेको सुनाउनुभयो । उहाँले तालिममा प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

चौधरीले सकारात्मक सोचका साथ अगाडि बढेमा जनअपेक्षाअनुसारका कार्यसम्पादन हुने बताउनुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले एकमहिने तालिमले कर्मचारीहरुमा निखारता आउनुका साथै सकारात्मक सोचको समेत विकास भएको उल्लेख गर्नुभयो । उहाँले छिटोछरितो रुपमा सेवा प्रवाह गर्न सके सेवाग्राही सन्तुष्ट हुने बताउनुभयो । पराजुलीले तालिमले कर्मचारीहरुलाई सेवा प्रवाहमा छिटोछरितो र प्रभावकारी कार्यसम्पादनमा बल पुग्ने विचार राख्नुभयो ।

सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले स्थानीय तहमा काम गर्नेले कर्मचारीमा एउटै मात्रै क्षेत्रको ज्ञान र अनुभव भएर मात्रै नहुने बताउनुभयो । उहाँले सरकारी कार्यालयबाट हुने विभिन्न सेवा प्रवाहका विषयमा जानकारी हुनुपर्नेमा जोड दिनुभयो । एकमहिने तालिम कर्मचारीहरुको क्षमता विकासमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट रमेश कार्की, हीरा यादव, संजीव भट्टराई, सुनिता पौडेललगायतले आफ्ना अनुभव सुनाउनुभएको थियो । स्तरवृद्धिका लागि सेवाकालीन प्रशिक्षण आवश्यक रहेकाले महानगरमा सो तालिम राखिएको महानगरको सूचना अधिकारीसमेत रहनुभएकी प्रशासन शाखाका अनिता कोइरालाले बताउनुभयो । सहभागीहरुका तर्फबाट प्रतिष्ठानका कार्यकारी निर्देशकसहित प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । हरेक दिन बिहान ६ देखि साढे १० बजेसम्म सञ्चालित तालिममा महानगरपालिकाका अधिकृतस्तर छैटौं तहका ४१ जना कर्मचारीहरु सहभागी भएको कोइरालाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!