१२३३ पटक हेरिएको
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रवक्तामा मोरङका नेता यदु बिष्टलाई नियुक्त गरिएको छ। कोशी प्रदेशका सभापति उद्धव थापा, कोषाध्यक्ष राजेश गुप्ता, र अन्य नेताहरूको उपस्थितिमा उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो।
यदु बिष्ट विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका नेता हुन्। २०४९ सालमा अखिलको लालकिल्ला तोड्दै, उनी नेपाल विद्यार्थी संघको तर्फबाट महेन्द्र मोरङ कलेज, विराटनगरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको चुनाव जितेका थिए। स्ववियु सभापतिको भूमिकामा रहँदा उनले विद्यार्थीहरूको हकहितका लागि उल्लेखनीय काम गरे। यसले उनलाई विद्यार्थीहरूको माझ प्रिय बनाएको थियो।
राजनीतिक यात्रा अघि बढाउँदै बिष्टले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा पार्टीको विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हालेका छन्। हाल उनी नेपाली कांग्रेसको महासमिति सदस्य पनि हुन्। विद्यार्थी राजनीति हुँदै, उनी नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारीमा पनि सक्रिय भएर काम गरिसकेका छन्।
बिष्ट सधैं निष्ठाको राजनीतिमा विश्वास राख्ने नेता मानिन्छन्। उनले पार्टी पैसा र बल को आधारमा चल्नु हुँदैन, बरु पार्टीको विधि र विधान अनुसार चल्नु गर्नुपर्छ भन्ने अडान लिएका छन्। उनका अनुसार पार्टीको मूल्य र मान्यताले नै पार्टीलाई सही दिशामा लैजान सक्छ, जसको लागि उनी लामो समयदेखि वकालत गर्दै आएका छन्।
उनको लामो राजनीतिक अनुभव, निष्ठा, र पार्टीप्रतिको समर्पणको कदर गर्दै नेपाली कांग्रेस कोशी प्रदेशले उनलाई प्रवक्ताको रूपमा नियुक्त गरेको हो। प्रवक्ताको रूपमा बिष्टले पार्टीका नीति, विचारधारा, र गतिविधिहरूलाई जनमानसमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। उनको यो नयाँ भूमिकाले नेपाली कांग्रेस कोशी प्रदेशलाई अझ सशक्त बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
बिष्टको यो जिम्मेवारीले पार्टीका कार्यक्रम र सन्देशहरूलाई जनतासम्म पुर्याउन र पार्टीको जनाधार बढाउन महत्वपूर्ण योगदान दिने अनुमान गरिएको छ। उनका समर्थकहरू उनको नियुक्तिलाई सकारात्मक रूपमा लिएका छन् र यसले पार्टीको संगठनात्मक बलियोपनमा थप ऊर्जा दिने विश्वास गरेका छन्।