११९६ पटक हेरिएको
विराटनगर।एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा कोशी प्रदेशसभाको सामाजिक विकास समिति सभापति गयानन्द मण्डलले संघीयतापछि योजना तथा कार्यक्रमहरू प्रभावकारी बन्न नसकेको बताए । उनका अनुसार, तीनै तहले आ–आफ्नै योजना ल्याउने प्रवृत्तिले गर्दा समन्वयको अभाव देखिएको छ ।
यसैगरी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बालबालिकाको अधिकार हनन भइरहेको जिकिर गरे । उनले अत्यन्तै कम उमेरका बालबालिकालाई विद्यालय पठाउने प्रचलनले बाल्यकाललाई कष्टकर बनाएको बताए । विराटनगर महानगरपालिकाका कार्यबाहक मेयर विश्वनाथ भगतले बालबालिकामा लगानी गरेर मात्रै देशको भविष्य उज्ज्वल हुने धारणा राखे ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख कुवेरसिंह खापुङले बालबालिकालाई उनीहरूको मातृभाषामा सिकाइ सामग्री उपलब्ध गराउनुपर्ने बताए । उनले प्रहरी जनशक्तिको अभावले गर्दा राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए ।
कार्यक्रममा आयोजक संस्थाका संस्थापक अध्यक्ष डिल्लीराम गिरीले राज्यले बालबालिकाको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको गुनासो गरे । उनले बालबालिकाको खुसी नै देशको भविष्य भएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए । सामाजिक विकास मन्त्रालयका निमित्त प्रदेश सचिव फडिन्द्र खत्रीले प्रदेश सरकार बालबालिकाको अधिकार संरक्षणका लागि प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाको सम्मान गर्नुपर्नेमा जोड दिइएको थियो । साथै, बालअधिकारसँग सम्बन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।