१०५४ पटक हेरिएको
विराटनगर। मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ९ स्थित शान्तिचोकमा आइतबार साँझ भीषण आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मुकुन्द प्रसाद कोइरालाको अढाइ तले काठको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो।
आगोले घरमा रहेको नगद ५० हजार रुपैयाँ, सुन, चाँदीका गहना, लत्ताकपडा, खाद्यान्न लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। आगो नियन्त्रणका लागि रंगेली नगरपालिकाको दमकल, कानेपोखरीको दमकल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा राति १० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
प्रहरीका अनुसार आगलागीबाट नगद ५० हजार, अढाई तोला सुन (जसको मूल्य करिब २ लाख ४० हजार रुपैयाँ), पाँच तोला चाँदीका गहना (जसको मूल्य करिब ९ हजार ७ सय २५ रुपैयाँ), अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र घरको काठको संरचनासहित कुल १२ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभएको छ।