
१६४१ पटक हेरिएको

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा बिचौलियाको दबदबा अझै कायम रहेको र सेवाग्राहीले प्रत्यक्ष लाभ लिन नसकेको गुनासो बढेको छ । नेपाल उद्योग परिसंघको सहयोग र जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा राजनीतिक विश्लेषक प्रा.डा. कृष्ण पोखरेलले जिल्ला प्रशासन कार्यालयमा नागरिकले आफैं आएर सेवा लिन सक्ने अवस्था न्यून रहेको बताए । उनका अनुसार बिचौलियामार्फत काम हुने र सेवाग्राहीको काममा ढिलासुस्ती हुने समस्या अझै कायम छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन सारडाले काम गर्नुपर्छ भन्दा पनि काम गरिदिनुपर्छ भन्ने भावनाले नेपाल बिग्रिरहेको बताए । उनले सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सबैभन्दा ठूलो समस्या रहेको आरोप लगाए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सनातन किसिमका काम गर्ने अड्डाले पूर्ण क्षमतामा कार्यसञ्चालन गर्न नसकेको स्वीकार गरे । उनले अड्डा प्रमुख मात्रै सुध्रेपनि कार्यालयको आधा काम सुध्रने बताए । उनले निजामती ऐन दशवर्षमा पनि संशोधन नहुँदा धेरै समस्या परिरहेको बताए ।
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था, मोरङका अध्यक्ष मोहन भण्डारीले सबै मिलेर स्वच्छता कायम गर्न सक्दा मात्रै पारदर्शिता स्थापीत हुने बताए ।