
१३०७ पटक हेरिएको

विराटनगर।विराटनगर महानगरपालिका वडा नं. १२ स्थित विराट समुदायिक भवनमा विराट राजवंशी युवा समितिले दिपावलीको पूर्वसन्ध्यामा हुकाहुकी पर्व मनाएको छ। कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले दियो बालेर यस कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रमुख अतिथि पराजुलीले विराट राजवंशी समुदाय कोशी प्रदेशको पहिलो जाति भएको उल्लेख गर्दै उनीहरूको धर्म, संस्कृति, कला र भेषभूषालाई संरक्षण गर्नु सबैको दायित्व भएको बताए।
राजवंशी समाज उत्थान समितिका उपाध्यक्ष प्रदीप विश्वास राजवंशीका अनुसार सुकरात पर्वमा विहानै घरलाई माटो र गोबरले लिपेर साँझ गाईगोरुलाई निम्तो दिने चलन छ। सन्ठी र दभारीले बनाएको हुकाहुकी घरमा दियो बालेर आगो लगाई खेल्ने गरिन्छ। यसो गर्दा दुःख-दरिद्र हटेर लक्ष्मी आउने विश्वास गरिन्छ। हुकाहुकी खेल्दा शरीरका रोग व्याधि निको हुने धार्मिक विश्वास रहेको उनले बताए।
समितिका अध्यक्ष भुनेश्वर मण्डलले चामलको पिठोले बगिया बनाई हुकाहुकी खेल्दा धानमा किरा फट्याङ्ग्रा नलाग्ने धार्मिक विश्वास रहेको जानकारी दिए।
कार्यक्रममा राजवंशी समाज उत्थान समितिका जिल्ला अध्यक्ष काशिराम राजवंशी, विराट राजवंशी शिक्षक कर्मचारी अध्यक्ष चन्द्र नारायण राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
विराट राजवंशी युवा समितिका अध्यक्ष विक्रम राजवंशीले संस्कृति जोगाउन हुकाहुकी जस्ता परम्परागत पर्वहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए।