
१२६९ पटक हेरिएको

कलैया। बाराको कलैयास्थित राजलक्ष्मी रिलिफ अस्पतालले क्यान्सर रोगीहरूका लागि निःशुल्क परीक्षण र उपचार सेवा सुरु गरेको छ। अस्पतालका सञ्चालक विजयकुमार साहले बारा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव महसुस गरी यो अस्पताल स्थापना गरेका थिए। पछिल्लो समय कलैया स्वास्थ्य सेवाको केन्द्र बन्दै गएकाले अस्पतालले क्यान्सर रोगीहरूलाई लक्षित गरी यो नयाँ सेवा थालेको हो।
सञ्चालक साहका अनुसार अस्पतालले स्तन क्यान्सर, पाइल्स क्यान्सर लगायतका विभिन्न प्रकारका क्यान्सरको निःशुल्क परीक्षण र शल्यक्रिया गर्नेछ। यसअघि नै अस्पतालले हड्डी, नाक, कान, घाँटी र शल्यक्रिया सम्बन्धी सफल उपचार गर्दै आएको थियो।
राजलक्ष्मी रिलिफ अस्पतालले आइसियु, भेन्टिलेटर जस्ता सुविधाहरुसहित कलैयाको पहिलो निजी अस्पतालको रूपमा स्थापित भएको छ। अस्पतालले विभिन्न रोग विशेषज्ञ डाक्टरहरूको टोलीबाट सेवा प्रदान गर्दै आएको छ। विशेष गरी फोक्सो रोगका बिरामीहरूका लागि शल्यक्रियासहित उपचार सेवा उपलब्ध छ।
सञ्चालक साहले बिरामीहरूले एकै ठाउँमा सबै प्रकारका परीक्षण र उपचार पाउने भएकाले अस्पतालको बिल अन्य अस्पतालको तुलनामा केही बढी हुने गरेको बताए। अन्य अस्पतालहरूले परीक्षणका लागि बाहिर पठाउने भएकाले अन्तिम बिल कम आउने गरेको उनले जानकारी दिए।