८७५ पटक हेरिएको
मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नम्बर ४ काशीजानकीकी २१ वर्षीया कृष्टि राजवंशी र उनकी ४ वर्षीया छोरी नायरा दास असोज २१ गतेदेखि बेपत्ता भएका छन्। कृष्टि आफ्ना माइती बेलबारी–८ मा ठूलो बुबाको निधन भएको कारणले असोज १९ गते छोरीलाई लिएर माइत गएकी थिइन्। ठूलो बुबाको काम सकेपछि उनी असोज २१ गते सोमबार घर फर्कने क्रममा सम्पर्कविहीन भएकी हुन्।
कृष्टिका श्रीमान अमित कुमार दास कतारमा वैदेशिक रोजगारमा छन्। उनले श्रीमती हराएको खबर पाएपछि आपतकालीन टिकट काटेर अक्टोबर १० मा नेपाल फर्केका थिए। श्रीमती र छोरीको खोजीका लागि उनले रंगेलीको इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
अमितले प्रहरीमार्फत खोजी कार्य जारी रहेको बताए, तर अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। कृष्टिको मोबाइल फोनको अन्तिम लोकेसन हरिनगरामा देखिएको भए पनि त्यहाँ खोजी गर्दा पनि पत्ता लाग्न सकेको छैन।
कृष्टिको कल डिटेल अनुसार अन्तिम कल बुबा, माइतीको दिदी र प्रहरीले गरेका थिए। उनका श्रीमान अमितले पत्रकार सम्मेलन मार्फत आम जनसमुदायलाई सहयोगको लागि आग्रह गर्दै जसले श्रीमती र छोरीलाई पत्ता लगाउँछ उसलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
कृष्टिलाई भुल्ने रोग भएको कुरा उनका आफन्तहरूले बताएका छन्। घरका कामहरु गर्दा वा सामान राख्ने क्रममा उनी कहिलेकाहीँ बिर्सने समस्या झेल्दै आएकी थिइन्। उनी काशीजानको श्री काली माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
श्रीमती र छोरी बेपत्ता भएपछि अमित अत्यन्त चिन्तित छन्। उनले घरमा कुनै प्रकारको मनमुटाव नभएको र विदेशमा हुँदा पनि श्रीमतीसँग घरायसी कुराकानी भइरहने गरेको बताएका छन्। उनले श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गर्दै यदि कुनै समस्या छ भने आफूसँग खुलस्त कुरा गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्।
कृष्टिका ससुरा किरण कुमार दासले पनि बुहारीलाई सम्पर्कमा आउन अनुरोध गर्दै जहाँ बस्न सहज हुन्छ, त्यही बस्न मिलाउने बताएका छन्।
यस घटनापछि प्रहरीले कृष्टि र उनकी छोरीको खोजी कार्यलाई तीव्र पारेको छ। प्रहरीले विभिन्न स्थानमा सिसिटिभी फुटेज खानतलासी गर्नुका साथै स्थानीय बासिन्दाहरुसँग सोधपुछ गरिरहेको छ।कृष्टि र उनकी छोरीको बारेमा कुनै जानकारी भएमा प्रहरी वा अमित कुमार दासलाई खबर गर्न परिवारले अनुरोध गरेको छ।