मेयर कोइरालाद्वारा सेवाकालीन प्रशिक्षणको उद्घाटन

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, कार्तिक २५, २०८१

१२१०  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीहरुलाई आग्रहसमेत गर्नुभयो । कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्यांकन हुने उहाँको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीति नियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीहरुको भएको मेयर कोइरालाले बताउनुभयो ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक महिने तालिमले कार्यालय सञ्चालन र व्यवस्थापनबारे धेरै नै जानकारी हुने बताउनुभयो । तालिममा विराटनगर महानगरपालिकाका १२ सहित कोशी प्रदेशका १२ वटा पालिकाका ८० जना सहायकस्तर चौथो र पाँचौं तहका कर्मचारीहरुको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिनुभयो । तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गर्नुहुनेछ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!