तराई मधेशमा मनाईने जितिया पर्व आज देखि प्रारम्भ, यस्तो छ मान्यता

Logo
स्थानिय अवाज प्रकाशित बिहिबार, आश्विन १८, २०८०

४१९१  पटक हेरिएको

जनकपुरधाम : मधेशी तथा थारु महिलाहरूले प्राथमिकताका साथ मनाइने जितिया पर्व आज देखि प्रारम्भ भएको छ । सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउने परम्परा छ । आश्विन कृष्ण पक्षदेखि अष्टमीसम्म मनाइने जितिया पर्वको आज पहिलो दिनलाई ‘नहा–खाए’ अर्थात नुहाएर मात्र खाने दिन भनिन्छ ।

आज व्रतालुले विभिन्न जलाशयमा स्नान गरी जलाशयको किनारामा घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई माछ मरुवा भनिन्छ ।

विधिअनुसार पहिलो दिनको राती अर्थात भोली बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन सम्पन्न गर्नु पर्छ । अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्राय:जसो महिलाले ओठगनमा च्यूरा दही खाने गर्छन् । व्रत बस्नु अघिल्लो दिन महिलाहरूले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट खाने गर्दछन् ।

दोस्रो दिन महत्वपूर्ण दिन हो । यस दिनलाई जीवित पुत्रीका दिन अर्थात खर जितिया पनि भनिन्छ । महिलाहरू विधि अनुसार कहिले ३६ त कुनै बेला ४८ घण्टे उपवास बस्नु पर्ने यस पर्वमा व्रत लिएका महिलाहरूले थुक पनि निल्न नहुने धार्मिक मान्यता रहेकाले यसलाई मिथिलाञ्चलमा सवै भन्दा कठोर वर्तका रुपमा लिइन्छ । यस पर्वमा धुप दिप, चामल, फुल, चन्दन लिएर जितवाहन भगवानको पूजा गरिन्छ । साथै माटो अथवा गाईको गोबरले चिल वा स्यालको प्रतिमा बनाइन्छ ।

गोबरबाट बनाइएको प्रतिमाको टाउकोमा रातो सिन्दुरको टीका लगाइन्छ । पूजा समाप्त भएपछि जिवित पुत्रिका व्रतको कथा सुन्नुपर्ने मान्यता रहेको छ । यसो गर्नाले पुत्र भएको महिलाको पुत्रको आयु लामो हुने र नभएकालाई पुत्र रत्नको प्राप्ति भई सुख समृद्धि प्राप्त हुने जनविश्वास छ । व्रतको तेस्रो दिन अर्थात जितियाको अन्तिम दिन ब्राम्हणलाई दानदक्षिणा वा भेटी दान गरेपछि खाना खाने गरिन्छ । यस दिनलाई पारण पनि भनिन्छ । व्रतपछि अरु परिकार खान मिल्ने भएता पनि विशेषत: भात, नैनिको साग र कोदोको रोटीलाई सबभन्दा पहिले मुखमा ग्रहण गर्ने परम्परा छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । पौराणिक कथन अनुसार राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेका थिए । त्यसपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए । त्यसकारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामांकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेको बताइन्छ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!