५८९ पटक हेरिएको
रंगेली नगरपालिका-७ स्थित वडा कार्यालय भवनमा सञ्चालित आयुर्वेदिक स्वास्थ्य केन्द्रले स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै चार वर्षअघि स्थापित यस केन्द्रले नागरिकको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ।
आयुर्वेद, योग र जडीबुटीको माध्यमबाट नागरिकको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सञ्चालित यस केन्द्रले स्थानीयवासीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ। ग्यास्ट्रिक, घुँडा दुखाइ, रुघाखोकी जस्ता सामान्य रोगको उपचारका साथै थैरापी पद्धतिद्वारा पनि उपचार सेवा प्रदान गरिँदै आएको महेश कुमार प्रमाणि बैद्यले बताए।
उनका अनुसार, केन्द्र स्थापना भएदेखि नै बिरामीको संख्या निरन्तर बढिरहेको छ। नगरपालिका र वडा कार्यालयको सहयोगले केन्द्रलाई सञ्चालन गरिए पनि थप सुविधा भएमा सेवा प्रवाह अझ प्रभावकारी हुने उनको भनाइ छ।
प्रदेश नं. १ स्वास्थ्य निर्देशनालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको सहयोगमा यस केन्द्रलाई सञ्चालन गरिएको छ। नेपाल सरकारले अघि सारेको ‘स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवन’ भन्ने अवधारणालाई कार्यान्वयन गर्न यस्ता खालका केन्द्रहरू देशभर सञ्चालित छन्।
आठ वर्षदेखि मधुमेह रोगबाट पीडित उजित नारायण महतोले यस केन्द्रबाट निरन्तर उपचार गराउँदै आएका छन्। उनले यहाँबाट पाएको उपचारले आफ्नो स्वास्थ्यमा ठूलो सुधार आएको बताए।त्यस्तै, रंगेली-७ की सुर्जी देवी मण्डलले लामो समयदेखि घुँडा दुखाइबाट पीडित थिइन्। उनले यस केन्द्रमा उपचार गराएपछि आफ्नो समस्याबाट मुक्ति पाएको बताइन्।
रंगेली-७ मा सञ्चालित आयुर्वेदिक स्वास्थ्य केन्द्रले स्थानीयवासीको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसले निःशुल्क औषधि वितरण गर्नुका साथै विभिन्न रोगको उपचार पनि गर्दै आएको छ। यस प्रकारका केन्द्रहरूको स्थापना र सञ्चालनले ग्रामीण क्षेत्रका बासिन्दालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्नेछ।