‘सख्खर जस्तै गुलियो व्यापार’

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, मंसिर १३, २०८१

१३८९  पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहेका छन् । उमेरले ६५ वर्ष पार गरिसकेका उनले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गरेका हुन् ।

खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उनी बताउँछन् । तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ । ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उनले भने ।

विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उनी कोल चलाउने गर्छन् । दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले पाँच सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्छन् । उनले उत्पादन गरेको सख्खर ६० देखि एक सय २० सम्ममा व्यापारीहरूले लैजाने गरेका छन् । उनले भने, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’

नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ । जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ । उनी तिनै किसानहरूको उखु खरिद गरिदिन्छन् र सख्खर बनाएर बिक्री गर्छन् ।

स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् । यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताए । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउँछन् ।

मण्डल भन्छन्, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उनी बताउँछन् । मण्डलले क्रसरमा अन्य पाँच जनालाई काम समेत दिएका छन्। उनीहरुको पनि तीनदेखि चार महिनाको रोजीरोटी यसैबाट टरेको छ ।

मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् । कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र दुई हजार पाँच सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउँछन् ।

भारतीय सख्खरले स्थानीय किसान मारमा

भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उनले भने, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु ? हाम्रोमा लागत धेरै छ ।’’भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उनको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उनी बताउँछन् । उनी भन्छन्, यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’ भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उनको भनाइ छ ।

चिनी उद्योगलाई उखु तान्ने हतारो

सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् । लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ ।

यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए । उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् ।

यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भने,।‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’ उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।

विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो । क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् । जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताए । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उनले भने, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’ उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।

यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताए । जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो । यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिए । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताए ।

यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिए । उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत एक÷दुई सातामा भुक्तानी गरिने समेत उहाँको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गरेको थियो ।

जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ । देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए । उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए । देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ ।

समर्थन मूल्य अन्योलमै

मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ । ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भने ।

यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् । पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ तोकिएको थियो । रासस

कमेन्ट गर्नुहोस्
error: Content is protected !!