महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, पुष १०, २०८१

२४१६  पटक हेरिएको

विराटनगर।विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।विराटनगरस्थित सिटिजन बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रदेश प्रमुख दिवश सिंह ठकुरीसहित मुक्तिनाथ तिम्सिना, मीनबहादुर घिमिरे र पुनन बडालले महानगरपालिका मेयर नागेश कोइरालालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

हालसम्म २८ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिनुभयो । सिटिजन बैंकसहित १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २८ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, एसवीआई बैंक, हिमालयन बैंक, नविल बैंक, लक्ष्मी सनराइज, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन् ।

महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पु¥याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ । रोडशेषदेखि दक्षिण मुख्यमन्त्री कार्यालय अगाडिको डिभाइडरमा पनि तारजाली लगाइसकिएको छ । मेयर कोइरालाले विराटनगरको विराटनगरको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, १९ का श्याम घिमिरे, कार्यपालिका सदस्य कमला श्रेष्ठसमेतको उपस्थितिमा भएको चेक हस्तान्तरण कार्यक्रममा मेयर कोइरालाले सबैको साथ र सहयोगले मात्रै विराटनगरको समग्र विकास हुने बताउनुभएको थियो । उहाँले सौन्दर्यकरण अभियानलाई सहयोग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुलाई धन्यवाद दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!