मिथिलामा ‘दशहरा’को रमझम सुरु

Logo
स्थानीय अवाज प्रकाशित आइतबार, आश्विन २८, २०८०

५६५८  पटक हेरिएको

महोत्तरी । असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ ।

 

आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून बज्न थालेका छन् । मिथिलामा बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिलाक्षेत्र देवी भजनले गुञ्जायमान बनेको छ ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । शास्त्रीय विधानमा भिन्नभिन्न ऋतुका दुई नवरात्र उल्लेख भए पनि शारदीय नवरात्र नै मुख्य ‘दशहरा’ मानिदै आइएको छ ।

“शास्त्रीय विधानमा दुवै नवरात्रको उत्तिकै महिमा र समान पूजाविधिको व्यवस्था छ, तर मिथिलामा उल्लास र उत्सवको पक्षबाट सधैँ शारदीय नवरात्र नै मुख्य रहँदै आएको छ”, मिथिला लोकपरम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन्, “शारदीय नवरात्रमा झिझिया नृत्य र ढोल बज्ने परम्परा मिथिलाका खास विशिष्ट हुन् ।” यद्यपि पछिल्ला केही दशकयता ‘दशहाराके ढोल’ र भिझिया नृत्य परम्परा हराउँदै गएको झाको ठम्याइ छ ।

शारदीय नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजन गरिएका छन् । कन्या कुमारीहरू ९अविवाहित किशोरी०ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् ।

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि हिजो शनिबार मध्यरातअघि (गएराति १०ः५३ मिनटदेखि) नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज मध्याह्नपूर्व (साढे ११ बजेअघि, ठीक साइत ११ः२९ मिनेटको समय) भित्र घटस्थापना गर्न उत्तम हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधार दिँदै झाले बताए । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा शुभमुहुर्त पहिल्याउने परम्परा छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने छ ।

पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर ९परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको० र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजिन्छन् ।

नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घरपरिवारमा देवीको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशैँ प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्ती–बस्तीमा जसो देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमयरूपमा ‘दुर्गा मेला’ को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृको आराधना क्रमशः प्रतिपदा (घटस्थापना) का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्व अवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गरेको देवीभागवत्मा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने तथा सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत भइने हिन्दू मैथिल जनविश्वास छ । रासस

कमेन्ट गर्नुहोस्
error: Content is protected !!