बङ्ग पालनमा युवाहरु आकर्षित

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ १५, २०८१

८०८  पटक हेरिएको

मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ३ स्थित रञ्जनीमा शिवु राईले सञ्चालन गरेको साङ्पाङ कृषि फर्मले बङ्गुरपालन व्यवसायबाट उल्लेखनीय सफलता हासिल गरेको छ। ९ वर्ष मलेसियामा बिताएपछि स्वदेश फर्किएका राईले आफ्नै जन्मभूमिमा केही गरौं भन्ने उद्देश्यले बङ्गुरपालन व्यवसाय सुरु गरेका हुन्।

विगत ४ वर्षअघि १५ वटा बङ्गुरबाट सुरु गरिएको यो फर्ममा अहिले ७० वटा हिमसार, ब्युरो र लेन्देक्स जातका बङ्गुरका साथै दुईवटा बोका पनि छन्। सुरुमा सानो लगानीमा व्यवसाय सुरु गरे पनि अहिले यसबाट उल्लेख्य आम्दानी भइरहेको राई बताउँछन्।

राईले मलेसियामा रहँदा नै बङ्गुरपालनबारे सिकेका थिए। उनका अनुसार एउटा बङ्गुरले १०० दिनमा बच्चा जन्माउँछ र स्वस्थ बङ्गुरले १२ देखि १८ वटासम्म बच्चा जन्माउँछ। यी बच्चालाई ४ देखि ५ महिना पुगेपछि ३० हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिन्छ।

बङ्गुरपालनका लागि राईले ६० लाख रुपैयाँ लगानीमा घर निर्माण गरेका थिए। सुरुमा उत्पादित बङ्गुर बिक्रीका लागि बजार खोज्न निकै समस्या भएको थियो। तर अहिले धरान, झापा, काठमाडौं, सिराहा लगायतका ठाउँबाट व्यापारीहरू बङ्गुर खरिद गर्न आउने गरेका छन्।

राईका भाइ आकाश राई भने सरकारले यो व्यवसायलाई कुनै पनि सहयोग नगरेकोमा दुःख व्यक्त गर्छन्। उनका अनुसार धेरैले अनुदानको रकम लिएर बसेका छन् भने मेहनत गरेर व्यवसाय गर्नेहरूलाई कसैले हेर्दैनन्।

स्थानीय युवा अनुप मुर्मु पनि बङ्गुरपालनबाट प्रभावित छन्। उनी साङ्पाङ फर्ममा काम गर्दै बङ्गुरपालनबारे सिकेपछि आफूले पनि यो व्यवसाय गर्न सक्ने भएको बताउँछन्।

स्थानीय धना कुमारी राई भने सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्छिन्। उनका अनुसार पावर र शक्ति भएकाहरूले फर्मको नाममा अनुदान लिने गरेका छन् भने मेहनत गर्नेहरूलाई हेला गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!