२४५३ पटक हेरिएको
बिराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ मा आयोजित मुस्लिम समुदायको धार्मिक सभासँगै पारस हस्पिटलले विशेष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा तीन दिनसम्म नेपाल तथा भारतका बिरामीहरूको उपचार गरिएको छ। डबल गोल्डमेडलिस्ट डा. सफिउर रहमान नेतृत्वको चिकित्सक टोलीले ३ हजारभन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ भने १५ हजारभन्दा बढीलाई निःशुल्क औषधि वितरण गरिएको छ।
डा. रहमानको कुशल नेतृत्व र पारस हस्पिटलको सेवामुखी अभियानका कारण कोशी र मधेश प्रदेशका साथै भारतको बिहार राज्यबाट समेत बिरामीहरू उपचारका लागि आकर्षित हुने गरेका छन्। अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता का अनुसार पारस हस्पिटल स्थापनाकालदेखि नै विपन्न तथा असहाय बिरामीहरूको उपचारमा समर्पित रहँदै आएको छ।
स्वास्थ्य शिविरबारे बोल्दै डा. रहमानले भने, “हामी केवल उपचार मात्र दिँदैनौं, गरिबीका कारण कसैले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छौं।” उनका अनुसार पारस हस्पिटलले यसअघि पनि कोशी, मधेश प्रदेश तथा बिहारका विभिन्न ग्रामीण बस्तिहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ।
पारस हस्पिटलका चिकित्सक तथा व्यवस्थापकहरूका अनुसार यो अभियानले विशेषगरी आर्थिक रूपमा विपन्न वर्गलाई ठूलो राहत मिलेको छ। डा. रहमान नेतृत्वको टोलीको निःस्वार्थ सेवा प्रवृत्तिप्रति स्थानीय समुदायले उच्च सराहना गरेका छन्।
समाजसेवामा डा. रहमानको योगदान
चिकित्सा क्षेत्रमा उच्च उपलब्धि हासिल गरेका डा. सफिउर रहमान बिरामीहरूको उपचार मात्र नभई गरिब तथा पिछडिएको समुदायका लागि स्वास्थ्य सेवा सहज बनाउन क्रियाशील छन्। स्वास्थ्य क्षेत्रमा उनको सेवाभाव र समर्पणले धेरै बिरामी नयाँ जीवन पाउन सफल भएका छन्।
पारस हस्पिटलको यो प्रयासले नेपाल-भारत सीमावर्ती क्षेत्रमा स्वास्थ्य सेवा पहुँचविहीन समुदायलाई ठूलो सहयोग पुर्याएको छ। निःशुल्क स्वास्थ्य सेवाका यस्ता अभियानलाई अझ व्यापक बनाउँदै लैजानुपर्नेमा स्थानीय बासिन्दा, सामाजिक अगुवा तथा धार्मिक समुदायले जोड दिएका छन्।