कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगर दोस्रो

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

९३५  पटक हेरिएको

विराटनगर।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ विराटनगर महानगरपालिका दोस्रो भएको छ ।६ वटा महानगरपालिकामध्ये विराटनगरले ७३ दशमलव ५ प्रतिशत अंकका साथ दोस्रो भएको हो । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ ।

ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे÷नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेकोलगायत पर्छन् ।

आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत अंक ल्याएर पहिलो हुँदा वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अंक प्राप्त गरेर छैटौं अर्थात् अन्तिम भएको छ । तेस्रो हुने ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, चौथो हुने काठमाडौं महानगरले ५४ दशमलव ३ प्रतिशत र पाँचौं हुने पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेका छन् । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो भएको हो ।

कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर दोस्रो हुनुले महानगरका लागि खुसी र गौरवको क्षण भएको मेयर नागेश कोइरालाले प्रतिक्रिया दिनुभयो । विराटनगरभन्दा स्रोत साधनले अब्बल महानगरहरुलाई उछिन्नु नै खुसीको क्षण भएको उहाँको भनाइ थियो । ‘यस अवसरमा सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा तथा शाखा प्रमुख, कर्मचारी, पत्रकार, नागरिक समाजसहित विराटनगरबासीमा हार्दिक धन्यवादसहित बधाई ज्ञापन गर्दछु,’ मेयर कोइरालाले भन्नुभयो, ‘अबको लक्ष्य पहिलो हुने हो । त्यसका लागि आजैदेखि सबैले आ–आफ्नो स्थानबाट काम गरौं भन्ने आग्रह पनि गर्दछु ।’ विराटनगर महानगर बेरुजु फछ्र्यौटमा पनि उत्कृष्ट हुँदै गएको छ । गत आर्थिक वर्ष मोरङका १७ पालिकामध्ये सबैभन्दा कम बेरुजु कामय भएको महानगर भएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!