ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, फाल्गुण ०६, २०८१

११४१  पटक हेरिएको

पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थालेकी छन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् ।

“दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ”, पार्वतीले भनिन्, “दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।”

उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् । “सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफैँ घर निर्माणको ठेक्का लिन थालेकी छु”, डगौराले भनिन्, “अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक रु एक हजार आम्दानी हुन्छ ।” राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ ।

“मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ”, उनले भनिन्, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन ।”

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छन्। एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ । “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ”, उनले भनिन्, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो ।”

दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ”, उनले भनिन्, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ।” अहिले उनले अरु महिलालाई रोजगारीसमेत दिएकी छन्। रासस

कमेन्ट गर्नुहोस्
error: Content is protected !!