
१७०२ पटक हेरिएको

विराटनगर।विराटनगरको रामलक्ष्मण मार्गस्थित डान इङ्लिस मिडियम स्कुलले आफ्नो २० औं वार्षिक उत्सव भव्यरूपमा मनाएको छ। १९ औं बसन्त पार गर्दै २० औं बसन्तमा प्रवेश गरेको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।
विद्यालयका प्रधानाध्यापक हिरा बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिराटनगर महानगरपालिका वडा नम्बर १ का अध्यक्ष काजी बहादुर बस्नेत थिए भने वरिष्ठ गायक रमा मण्डल विशिष्ट अतिथिका रुपमा उपस्थित थिए।
विद्यालय प्रांगणमा आयोजित उत्सवमा वर्षभरिका अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल, र ट्रफी प्रदान गरियो। साथै, अभिभावक र शिक्षकहरूलाई समेत सम्मान गरिएको विद्यालयका सञ्चालक नितिन गजुरेलले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्दै गीत र नृत्य प्रस्तुत गरे।
विद्यालयले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइमा ध्यान दिने र उनीहरूको रुचिअनुसारका विषय पढाउने अभ्यास गर्दै आएको प्रधानाध्यापक थापाले बताए। विद्यालयले चाँडै यातायात सुविधा र प्लस २ कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी गराए।
हाल कक्षा नर्सरीदेखि कक्षा ९ सम्म अध्यापन गराइरहेको यो विद्यालयमा ३ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न अनुभवी शिक्षकहरूको व्यवस्था गरेको र भविष्यमा थप उचाइ हासिल गर्ने उद्देश्यका साथ अघि बढिरहेको सञ्चालक गजुरेलले बताए।
यस उत्सवले विद्यालयका विद्यार्थी, अभिभावक, र स्थानीय समुदायबीच थप उत्साह र विश्वास बढाएको छ।