विराटनगर महानगरद्वारा हाजिरीजवाफ प्रतियोगिता आयोजना

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

२१४४  पटक हेरिएको

विराटनगर।  विद्यार्थीहरूको क्षमता विकास गराउने उद्देश्यले विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि महानगरस्तरीय अन्तर सामुदायिक आधारभूत विद्यालय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीले बाहिरी ज्ञान पनि हासिल गर्नु जरुरी रहेको औंल्याउनुभयो । उहाँले हरेक शुक्रबार महानगर क्षेत्रका विद्यालयलाई ‘बुक फ्रि डे’ का रुपमा अघि सारिएको जानकारी दिनुभयो ।

शुक्रबार पाठ्यपुस्तकको अध्ययनभन्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउने नीति अघि सारिएको उहाँको भनाइ थियो । ‘रुचीअनुसार शुक्रबार विद्यार्थीले आफूलाई प्रस्तुत छन् । खेलकुदमा रुची भएकाले खेलकुदमा भाग लिन्छन् । साहित्यमा रुची भएकाले साहित्य सिर्जना वाचन गर्छन् । गीतसंगीतमा रुची भएकाले गीत गाउँछन्,’ मेयर कोइरालाले भन्नुभयो, ‘यसले आफ्नो रुचीअनुसार विद्यार्थीले आफूलाई निखार्छन् ।’

अध्ययनसँगै अन्य क्षेत्रमा लागेर अगाडि बढ्न सकिन्छ भन्ने कुरा विद्यार्थी र अभिभावले बुझ्नु जरुरी रहेको उहाँले बताउनुभयो । मेयर कोइरालाले प्रविधिमैत्री शिक्षालाई महानगरले जोड दिइरहेको उल्लेख गर्नुभयो । व्यवहारिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरू सिर्जना हुने उहाँको भनाइ थियो । वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन निरौला, प्रअ नेत्रप्रसाद पराजुली, जिल्ला शिक्षा शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौला, शिक्षक ऋषि खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका ५४ वटा विद्यालयका विद्यार्थी सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले २१, द्वितीय हुनेले १५ र तृतीय हुने विद्यालयले १२ हजार र सान्त्वनाले ६० हजार नगद राशिसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागी सबै विद्यालयलाई ट्रफीका साथमा स्टेशनरी सामग्रीसमेत प्रदान गरिनेछ । प्रतियोगिता विगत ७ वर्षदेखि जारी रहे पनि यसपटकदेखि भने रनिङ शिल्डका रुपमा सुरु भएको हो । अब प्रथम हुनेले १६ तोलाको चाँदीको जलप र महानगरको लोगो कुँदिएको शिल्ड प्राप्त गर्नेछ । लगातार तीनपटक प्रथम हुने विद्यालयले सो शिल्ड सधैंका लागि प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको विराटनगर–७ स्थित बाल मन्दिरका प्रधानाध्यापक नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । महानगरले यसअघि लोकनृत्य प्रतियोगिता र वृहत विज्ञान प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!