
२४२२ पटक हेरिएको

बारा ।बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ। सवारी दुर्घटना न्यूनीकरण र सडक सुशासन कायम गर्न कार्यालयले छड्के जाँच बढाएको हो। कागजात भए/नभएको जाँच र सवारी साधनको यान्त्रिक परीक्षणमा जोड दिइएको कार्यालयका प्रमुख अबिन्दर दासले जानकारी दिए।
मंगलबार कलैया उपमहानगरपालिका-१० मटिअर्वामा छड्के जाँच गरिएको थियो। कार्यालय प्रमुख दासको नेतृत्व र ट्राफिक प्रहरी कार्यालय निजगढको समन्वयमा मटिअर्वा चोकमा जाँच गरिएको थियो। जाँचका क्रममा केही सवारी साधनलाई कारबाही गरिएको थियो।
चालकको लापरबाही र पुराना सवारी साधनका कारण दुर्घटना बढिरहेकाले ट्राफिक नियम पालना गराउन जाँचलाई निरन्तरता दिइने दासले बताए। जाँचका क्रममा पुराना सवारी साधनलाई मर्मत गर्न दबाब दिने र विस्थापित गरी सडक यातायात सेवालाई भरपर्दो बनाउने लक्ष्य राखिएको उनको भनाइ छ।
कलैयामा २०८० मंसिर २५ गते यातायात कार्यालय स्थापना भए पनि यो पहिलो पटक छड्के जाँच गरिएको हो। अब समय-समयमा तालिका बनाएर जाँच गर्ने उद्देश्य रहेको दासले बताए।
जाँचमा कार्यालयका सहायक अधिकृत जीवन पौडेल र सर्बिन महतो, लेखापाल रघुनन्दन साह, अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतसहितको टोली खटिएको थियो।
यसअघि कार्यालयबाट चालक अनुमतिपत्र (लाइसेन्स) जारी, सवारी दर्ता, नवीकरण, जाँचपास, रुट परमिट, चालक अनुमतिपत्र दस्तुर र नवीकरणलगायतका सेवा प्रवाह भइरहेका छन्।