प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अङ्क जोड्दै सुनसरी शीर्ष स्थानमा

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, फाल्गुण २२, २०८१

२५५१  पटक हेरिएको

विराटनगर ।प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जित निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो ।

बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४ दशमलव ४ बलको क्षतिमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो । उदयपुरका लागि सुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए । उदयपुरका लागि दिपकराज जोशीले सर्वाधिक तीन विकेट लिए ।

जितका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९ दशमलव १ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले सर्वाधिक चार विकेट लिए ।

यसैगरी मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ । मोरङले चार मध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्क जोड्दै दोस्रो भयो । झापाले चार मध्ये दुई खेलमा जित निकाल्दै चार अङ्क जोड्दै तेस्रो स्थान ओगट्न सफल भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३ दशमलव १ बलको क्षतिमा सबै विकेट गुमाउँदै एक सय १४ रन बनाउन सक्यो । झापाका भुपाल दङ्गालले सर्वाधिक ३९ रनको योगदान दिए । मोरङका श्रवण किस्कुले तीन विकेट लिँदा अमर यादवले पनि तीन विकेट लिए ।

जितका लागि एक सय १५ रनको चुनौती पाएको मोरङले २९ दशमलव १ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मोरङका प्लेयर अफ द म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनस थापाले अविजित ४७ रनको योगदान दिए । झापाका विपिनकुमार महतोले एक विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता थियो । छनोट खेलमा अङ्कका आधारमा क्रमशः शीर्ष स्थानमा रहने तीन टिमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!