लुथरन समाजद्वारा विपन्न समुदायलाई सहयोग

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

१८२०  पटक हेरिएको

बिराटनगर । लुथरन सामुदायिक कल्याण समाजले मोरङ जिल्लाका विभिन्न विद्यालय र समुदायका महिलाहरूलाई आर्थिक सहयोग गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। समाजले रंगेली नगरपालिका वडा नं. १ का किसानहरूलाई पम्पसेट, बोरिङ सेट, बीउविजन र किसान पाठशाला प्रदान गर्दै आइरहेको छ।

रंगेली नगरपालिका वडा नं. १ का किसान रामविलास महतोले समाजले बीउविजन, पम्पसेट, बोरिङ सेट र कृषि सम्बन्धी तालिम दिँदा सहज भइरहेको बताए।

चर्चित महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक सुशीला मर्मका अनुसार, समाजसँग सहकार्य गर्दा धेरै सहज भइरहेको छ। उनले समाजले बीउविजन र अन्य कृषि कार्यहरूमा सहयोग गरिरहेको बताइन्। रंगेली वडा नं. ८ स्थित सन्थाल सामुदायिक भवनलाई पनि समाजले एक लाख रुपैयाँ सहयोग गरेको छ।

समाजले श्री त्रिभुवन माध्यमिक विद्यालय, श्री महेन्द्र आधारभूत विद्यालय र श्री शिक्षा सदन माविमा गरी कुल रु. ३०,००० बराबरको सरसफाइ सामग्री वितरण गरेको छ। यसले विद्य्यालयको सरसफाइमा टेवा पुग्ने विश्वास गरिएको छ। कानेपोखरी गाउँपालिका र रंगेली नगरपालिकाका विभिन्न समूहका १७ जना महिलालाई रु. १,५०,००० बराबरको आर्थिक सहयोग गरी सुंगुरपालन र बाख्रापालनका लागि सहयोग गरिएको छ। यसबाट महिलाहरू आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ। समाजले ५ जना महिलालाई किराना पसल, २ जनालाई तरकारी पसल र १ जनालाई सिटी सफारी व्यवसायका लागि गरी कुल रु. १,६०,००० बराबरको आर्थिक सहयोग प्रदान गरेको छ। अनुगमनका क्रममा यी व्यवसायहरू सफलतापूर्वक सञ्चालन भइरहेको पाइएको छ।

लुथरन सामुदायिक कल्याण समाजका रंगेली र कानेपोखरी गाउँपालिका विकास इन्चार्ज गोपाल सोरेलका अनुसार, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकामा समाजले ३४ वटा समूह निर्माण गरेर स्थानीयहरूलाई खेतीपातीको तालिम, जीविकोपार्जन, सरसफाइ लगायत विभिन्न विषयमा तालिम र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

कार्यक्रम संयोजक जोवेल सोरनका अनुसार, राज्यले गरिब, विपन्न तथा पछाडिएका वर्गहरूका लागि विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गरिरहेको छ। तर, जानकारीको अभावका कारण यस समुदायका मानिसहरू ती सेवाबाट वञ्चित भइरहेका छन्। तसर्थ, उनीहरूलाई मुलधारमा ल्याई सामाजिक, आर्थिक तथा राजनीतिक रूपले सशक्त बनाउने तथा जीवन परिवर्तन गर्ने उद्देश्यले संस्था क्रियाशील रहेको छ। यस संस्थाले अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका महिलाहरूको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!