पूर्वराजा ज्ञानेन्द्रको पक्षमा विराटनगरमा शक्ति प्रदर्शन, नारायणहिटी दरबार खाली गर्न सरकारलाई चेतावनी

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, फाल्गुण २३, २०८१

२१९९  पटक हेरिएको

विराटनगर।पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजगद्दीमा फर्काउन दबाब दिँदै राष्ट्रवादी शक्तिहरूले शुक्रबार विराटनगरमा शक्ति प्रदर्शन गरेका छन्। नारायणहिटी दरबारलाई पुनः दरबारकै रूपमा फर्काउनुपर्ने माग राख्दै उनीहरूले सरकारलाई अल्टिमेटमसमेत दिएका छन्।

२०६२/६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापनासँगै संग्राहलयमा परिणत नारायणहिटी दरबारलाई पूर्वराजाको निवासका रूपमा पुनः स्थापित गर्नुपर्ने मागसहित निकालिएको जुलुसमा सयौं सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री प्रहलादप्रसाद शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कोशी प्रदेश अध्यक्ष माधव आचार्य, मोरङ जिल्ला अध्यक्ष कुमार ढकाल, एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका उपाध्यक्ष रमा प्रसाईलगायतका नेताहरूले विरोध सभामा सम्बोधन गरेका थिए।

शक्ति प्रदर्शन विराटनगरको पुष्पलाल चौकबाट सुरु भई गाडी तथा मोटरसाइकल र्‍यालीसहित नगर परिक्रमा गर्दै कञ्चनवारी चौकमा पुगेर सम्पन्न भएको थियो। जुलुसका क्रममा सहभागीहरूले पूर्वराजतन्त्रको पक्षमा तथा गणतन्त्रविरुद्ध नाराबाजी गरेका थिए।

कार्यक्रममा सहभागी सर्वसाधारणले राष्ट्रिय झण्डा फहराउँदै समर्थन जनाएका थिए भने सडक किनारमा उभिएर भिडियोग्राफी गर्नेको संख्या समेत उल्लेखनीय थियो। आयोजकहरूले संघीयता खारेजीको माग गर्दै आगामी दिनमा आन्दोलनलाई अझ सशक्त बनाइने बताएका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!