मेयर बालेनले हेरे ‘लाज शरणम्’, सिताराम कट्टेलको खुलेर प्रशंसा

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

१९२९  पटक हेरिएको

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर तथा चर्चित र्‍यापर बालेन्द्र शाह (बालेन) ले आफ्नो पार्श्व गायन रहेको फिल्म ‘लाज शरणम्’ हेरेका छन्। सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हल मा फिल्म हेरेपछि उनले अभिनेता सिताराम कट्टेल (धुर्मुस) को अभिनयको खुलेर प्रशंसा गरे।

फिल्म हेरेपछि बालेनले सितारामलाई अंगालो मार्दै भने, ‘यस्तो डिटेल दिनुभा’छ नि! कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो। एकदमै राम्रो काम गर्नुभएको छ। म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ। हेरिरहँदा एकदमै मज्जा आयो।

‘लाज शरणम्’ मा बालेनले गाएको ‘नेपाल हाँसेको’ गीत समावेश छ, जुन अहिले चर्चामा छ। फिल्ममा क्रेडिट लाइन स्क्रोल हुन थालेपछि बज्ने यो गीतले फिल्मको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। कलाकार अर्जुन घिमिरे (पाँडे) सँगको विशेष सम्बन्धका कारण बालेनले यो गीत फिल्मलाई उपलब्ध गराएका थिए।

प्रदर्शनको दोस्रो सातामा प्रवेश गरिसकेको ‘लाज शरणम्’ को बक्स अफिस तथ्याङ्क सार्वजनिक नगरिए पनि प्राप्त जानकारीअनुसार आइतबारसम्म फिल्मले ३ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ। कुमार कट्टेल को निर्देशनमा बनेको यस फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापा लगायतका कलाकार मुख्य भूमिकामा छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!