
९६६ पटक हेरिएको

विराटनगर। “कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान तथा प्रोत्साहनका लागि कोशी प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश सरकार) तथा विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोज कार्यक्रम वैशाख २३, २४, र २५ गते भित्र आयोजना हुने भएको हो।
कार्यक्रम अन्तर्गत कोशी प्रदेशभरका अपाङ्गता भएका व्यक्तिहरूले कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय/क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला, नवप्रवर्द्धन (इनोभेसन) लगायतका नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।
राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेश अध्यक्ष नविन चन्द्र ढुङ्गेलका अनुसार प्रारम्भिक चरणमा प्रतिभा संकलनको कार्य भइरहेको छ। उनका अनुसार, कार्यक्रमको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूमा लुकेका प्रतिभालाई उजागर गर्दै, व्यवसायिक दृष्टिकोणबाट अघि बढाउनु तथा अन्य निकायहरूसँग जोड्ने रहेको छ। अनुमानित रूपमा कार्यक्रम सञ्चालनका लागि २३ लाख रुपैयाँ खर्च हुने र त्यसमा करुणा फाउन्डेसन नेपालले १० लाख रुपैयाँ सहयोग गरेको उनले बताए।
करुणा फाउन्डेसनका निर्देशक योगेन्द्र गिरीले अपाङ्गता भएका व्यक्तिहरूले समाजमा विभिन्न प्रकारका विभेद र हिंसा भोग्नुपरेको उल्लेख गर्दै, यस कार्यक्रममार्फत उनीहरूलाई आत्मनिर्भर बनाउँदै आयआर्जनको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए। नेपालमै पहिलो पटक हुन लागेको हो , कार्यक्रममा सबै उमेर समूहका अपाङ्गता भएका व्यक्तिहरूले सहभागिता जनाउन पाउनेछन्।