विराटनगर महानगरद्वारा विराट सीप विकास केन्द्र सञ्चालन

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, बैशाख ०८, २०८२

६०२  पटक हेरिएको

विराटनगर ।विराटनगर महानगरपालिकाले निजीसँगको सहकार्यमा सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने भएको छ । त्यसका लागि महानगरले उद्योग संगठन मोरङसँगको सहकार्यमा विराट सीप विकास केन्द्र सञ्चालनमा ल्याएको छ । केन्द्रमार्फत सीपयुक्त दक्ष जनशक्ति उत्पादन गरिनेछ । केन्द्रको मेयर नागेश कोइरालाले आइतबार एक समारोहका बीच शुभारम्भ गरे ।

तत्कालका लागि विराटनगर–१ त्रिवेणी मार्गस्थित डनबक्सको स्कुलमा ५ वटा कोठा भाडामा लिएर केन्द्रले तालिम सञ्चालन गर्नेछ । विभिन्न व्यावसायिक फर्म र सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ । महानगरले कार्यविधि नै बनाएर केन्द्रमार्फत बजारको मागअनुसारको जनशक्ति उत्पादन गर्नेछ । महानगरले उद्योग संगठन मोरङका कार्यकारी सदस्य सुरेन्द्र गोल्छालाई केन्द्रको संयोजक तोकेको छ ।
तालिम सञ्चालनका लागि महानगरले विभिन्न संस्थालाई बजेट विनियोजन गर्ने गरेको थियो ।

यसरी संस्थाहरूमार्फत तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको भन्दै महानगरवासीले नै गुनासो गर्दै आएका थिए । ती संस्थाहरूले उद्घोषण कलादेखि जुत्ताचप्पल बनाउने, अचार बनाउने, सिलाइकटाइलगायतका तालिम सञ्चालन गर्दै आएको थियो । अब महानगरले एकद्वार प्रणालीमार्फत बजारको मागअनुसारको तालिम सञ्चालन गर्ने मेयर नागेश कोइरालाले बताए । सीप विकास केन्द्रलाई देशभरकै नमुनाका रुपमा स्थापित गर्ने उद्देश्य रहेको उनले सुनाए । मेयर कोइरालाले सीप सिकेर आफैं स्वरोजगारसमेत बन्न सकिने धारणा राखे । ‘सीप सिकेर जागिर नै खानुपर्छ भन्ने छैन,’ उनले भने, ‘आफ्नै व्यवसाय गरेर स्वरोजगार पनि हुन सकिन्छ । त्यसका लागि महानगरले पुँजीको समेत व्यवस्थापन गर्छ । कसैसित सीप छ तर लगानी गर्ने पुँजी छैन भने त्यसका लागि पनि महानगरले पुँजीको व्यवस्थापनका लागि पहल गर्छ ।

उदय परियोजना र प्रदेश सरकारसँग पनि कुराकानी भइरहेको छ ।’उपमेयर शिल्पा निराला कार्कीले रोजगारीको खोजीमा रहेका युवा र दक्ष जनशक्ति खोजिरहेका रोजगारदातालाई जोड्न महानगरले पुलको काम गर्ने बताइन् । लामो समयदेखि महानगरले विभिन्न संघसंस्थामार्फत तालिम दिँदै आए पनि त्यसको प्रतिफल एकदमै न्यून पाइएको उनको भनाइ थियो । एकद्वार प्रणालीमार्फत तालिम सञ्चालन गर्दा बजेटको सही सदुपयोग हुने उपमेयर कार्कीले बताइन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले सीपलाई व्यापारीकरण गर्नुपर्नेमा जोड दिए ।

सीप सिकेर मात्रै नहुने बताउँदै सीपलाई व्यवहारमा उतार्नु जरुरी रहेको औंल्याए । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, सीप केन्द्रका संयोजक सुरेन्द्र गोल्छा, उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराईलगायतले आमनागरिकको जीवनयापन सहज बनाउन सीप आवश्यक रहेको उल्लेख गरे । हातमा सीप भएको व्यक्तिले जुनसुकै स्थानमा गएर पनि सहज रुपमा जीवनयापन गर्ने उनीहरूको भनाइ थियो ।
सीप विकास केन्द्र शुभारम्भका अवसरमा निःशुल्क माला र पोते बनाउने तालिम सुरु भएको छ ।

केन्द्रकी प्रमुख सुनिता पराजुली र महानगरका तर्फबाट फोकल पर्सन रोजी कार्कीमार्फत तालिममा सहभागीहरूलाई मेयर कोइरालाले एप्रोन प्रदान गरेका थिए । १५ दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक मालती उपाध्यायले सहजीकरण गर्नेछिन् । तालिममा २० जना महिला सहभागी छन् । माला र पोते बनाउने तालिम सम्पन्न भएलगत्तै ई–रिक्सा मर्मत, बिल्डिङ इलेक्ट्रानिक्स, प्लबिङसहितका बजारको मागअनुसार अन्य तालिम पनि सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!