
७३४ पटक हेरिएको

विराटनगर।विराटनगर १२ निवासी तथा स्केट मोरङ जिल्ला अध्यक्ष सुरज कामतका छोरा, ७ वर्षीय कुनाल कामतले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण र ३ कांस्य पदक जितेर नेपाल साथै विराटनगरको शिर उच्च बनाएका छन्।
कुनाल कामतले २०८१ साल असोज १ गतेदेखि असोज ८ गतेसम्म थाइल्याण्डमा आयोजना भएको स्केट खेल प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट सफलता हात पारेका थिए।विराटनगर महानगरपालिका वडा नं १२ को कार्यालयले कुनाललाई सम्मान गर्ने वाचा गरे पनि लामो समयसम्म कार्यान्वयन नभएको कुनालका बुबा सुरज कामतले बताए। उनका अनुसार पटक–पटक समय थप्दै ढिलाइ हुँदै आएको छ।
यसै सन्दर्भमा वडा नं १२ का अध्यक्ष हिरालाल कामतले भने, “वडामा नगरबाट बजेट आइपुग्न ढिला भएकाले सम्मान कार्यक्रम पछि सरेको हो।” उनले यही महिना भित्रै कुनाल कामतलाई औपचारिक रुपमा सम्मान गर्ने प्रतिबद्धता समेत जनाएका छन्।कुनालले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको अद्वितीय सफलताले विराटनगर महानगरपालिका र वडा नं १२ लाई अन्तर्राष्ट्रिय तहमा चिनाउन महत्वपूर्ण योगदान दिएले उनलाई अझ प्रोत्साहन गर्नका लागी सम्मान गर्ने वडा अध्यक्ष कामतले बताए।