
२७८८ पटक हेरिएको

रंगेली। इलाका प्रहरी कार्यालय रंगेली अन्तर्गतको इलाका प्रहरी दोहमनाको भवन जीर्ण अवस्थामा छ। बजारको मुख्य भागमा रहेको यो कार्यालयले विगत ३४ वर्षदेखि त्यस क्षेत्रका जनताको जिउधनको शान्ति सुरक्षामा अहोरात्र खटिरहेको छ। जनताको सुरक्षाका लागि खटिएको प्रहरी आफैँमा असुरक्षित महसुस गरिरहेको देखिन्छ।
प्रहरी अधिकारीहरूका अनुसार जनतालाई सुरक्षा प्रदान गर्ने प्रहरी नै बस्ने घर असुरक्षित भएको महसुस गरिरहेका छन्। एक प्रहरीले पुरानो भवनको छत हेर्दा सुतेको समयमा कतै आफ्नै जिउमा खस्ने हो कि भन्ने चिन्तामा बस्नुपर्ने बाध्यता रहेको बताए। उनीहरू आफ्नो समस्याबारे खुलेर बोल्न पनि डराउँछन्, किनकि बोलेमा स्पष्टीकरण दिनुपर्ने र समस्या हुने उनीहरूको गुनासो छ।
३४ वर्षको अवधिमा धेरै नेताका कुर्सी फेरिए, उनीहरूका आफन्त फेरिए, तर प्रहरीलाई बस्नका लागि घर फेरिन सकेन। स्थानीय जय प्रकाश पोखरेलले ३४ वर्षअगाडि १ कट्ठा ६ धुर जग्गा दान दिएपछि सोही ठाउँमा स्थानीय बुद्धिजीवी र समाजसेवीहरूले प्रहरी चौकी निर्माण गरेका थिए। २०४१ पुस ९ गते स्थानीय गोपालमान राजभण्डारीद्वारा शिलान्यास गरिएको यो प्रहरी चौकी २०४८ चैत्र २० गते तत्कालीन प्रहरी नायव निरीक्षक ध्रुवबहादुर प्रधानले उद्घाटन गरेका थिए।
३४ वर्ष बितिसक्दा पनि भवनको समय-समयमा मर्मतसम्भार नगरिँदा अहिले भवन जीर्ण बन्दै गएको छ। अब भने प्रदेश सरकारले ५१ लाख रुपैयाँमा प्रहरीको भवन निर्माण कार्यको योजना सुरु गर्ने भएको छ।
हाल प्रहरीले दोहमना, बनकोल, फर्सीडाँगी, बेलचोक, दर्वेशा, बटरवारी र बनकोलसम्मका स्थानहरूमा शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका छन्। विगतका दिनहरूमा २३ जनाको दरबन्दी रहेको भए तापनि अहिले कार्यालयमा असईको कमान्डमा ७ जनाले मात्रै शान्ति सुरक्षा दिइरहेका छन्। पुरानो एकतल्ले पक्की भवनको छत वर्षौँदेखि चर्केको छ। सामान्य पानी पर्दा पनि चुहिने र छतबाट प्लास्टर झरेर आफैँलाई ज्यान जोखिममा पारेर बस्नुपर्ने बाध्यता थियो।