मोरङ उद्योग व्यापार संघद्वारा पूर्व गृहमन्त्री खाँणसँग भेट, उद्योगीका समस्याबारे ध्यानाकर्षण

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन ०१, २०८२

१०००  पटक हेरिएको

विराटनगर । मोरङ उद्योग व्यापार संघको एक प्रतिनिधिमण्डलले बुधबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणसँग भेटघाट गरी उद्योगी तथा व्यवसायीहरूका समसामयिक समस्या र चुनौतीहरूबारे जानकारी गराएको छ। संघले समाधानका लागि पहल गर्न खाँणलाई आग्रह गरेको छ।

संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहको नेतृत्वमा गएको टोलीले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा ल्याइएको आर्थिक तथा मौद्रिक नीति विगतको तुलनामा उद्योग–व्यवसायमैत्री भए तापनि केही बुँदामा सुधार आवश्यक रहेको धारणा राख्दै त्यसतर्फ ध्यानाकर्षण गराएको हो।

प्रतिनिधिमण्डलले उद्योग तथा व्यवसायमा देखिएका व्यावहारिक समस्याहरूको समाधानका लागि सरकारबाट नीतिगत सुधारको अपेक्षासहित तयार पारिएको ज्ञापनपत्र खाँणलाई बुझाएको थियो।

सो अवसरमा संघका निवर्तमान अध्यक्ष नवीन रिजालले नेपालको बीमा प्रणालीमा लागू भइरहेको अत्यधिक प्रिमियम दर घटाउनुपर्ने, बीमाका अन्यायपूर्ण नीतिहरू खारेज गर्नुपर्ने, साथै कवाडीजन्य फलामको धुलो र टुक्रा सिसाको निकासीमा लाग्दै आएको भन्सार महसुल हटाउनुपर्ने माग प्रस्तुत गरे।

त्यस्तै, संघका पूर्व अध्यक्ष पवन कुमार सारडाले वायर रड उत्पादन उद्योगमा प्रयोग हुने कच्चा पदार्थ एम.एस. वायर रडमा भन्सार महसुल वृद्धि गरिएकोप्रति आपत्ति जनाउँदै उक्त निर्णयको पुनरावलोकन गर्नुपर्ने धारणा राखे। उनले सुतिका लत्ता कपडाको आयातमा लागिरहेको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न पनि आग्रह गरे।

संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साहले सुन तथा सुनका गहनाको बिक्री मूल्यमा लगाइएको दुई प्रतिशत विलासिता शुल्क र बहुमूल्य पत्थर जडित गहनामा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को व्यवस्था व्यवसायमैत्री नभएको बताउँदै त्यसको खारेजीका लागि सरकारसमक्ष पहल गरिदिन आग्रह गरे।

संघको उक्त टोलीमा वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठ, संघका कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू तथा महिला उद्यम समिति सदस्यहरू सहभागी थिए।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!